काठमाडौं । निर्वाचनमा आयोगले नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बुधबार दल दर्ताको प्रमाणपत्र दिने भएको छ ।
आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले बुझाएको निवेदनमा प्रस्तावित संघीय सांसद र केन्द्रीय सदस्यहरुको सनाखत सकिएलत्तगै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको हो ।
नेपाल पक्षका केन्द्रीय सदस्य गंगाधर तुलाधरले दल दर्ताका लागि आवश्यक संख्या पुगिसकेकाले आजै प्रमाणपत्र प्राप्त हुने बताए । आयोगले २ बजेसम्मका लागि सनाखतका लागि समय तोकेको थियो । नेपाल पक्षका दुवै सदनका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत भएको छ ।
चारजना सांसदको भने हस्ताक्षर बाँकी छ । सोमनाथ पाण्डे, शारदा भट्ट, माया ज्ञवाली र तुलासा थापाको हस्ताक्षर बाँकी रहेको हो । उनीहरुका बारेमा निर्वाचन आयोगमा छलफल जारी छ । नेपाल समूह चन्द्रागिरीबाट सिधै निर्वाचन आयोग पुगेको थियो ।
यस्तै, ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ जना संघीय सांसद र १७ जना केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत भएको छ । रेशम चौधरीले भने जेलबाटै हस्ताक्षर गरे । निर्वाचन आयोगले पार्टी सनाखतका लागि दुईवटा डेस्क छुट्याएको थियो ।
आयोगले दुबै दलको सनाखतका लागि अढाइ घण्टा समय तोकेको थियो । दुवै पार्टीले नयाँ दल दर्ताका लागि भदौ ४ गते आयोगमा निवेदन दिएका थिए । सोही दिन आयोगले निवेदन दर्ता गर्दै आजकै दिन सनाखतका लागि बोलाएको थियो ।
।