सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

दिल्लीबाट झलनाथले भने, ‘ओलीको दमन र अवसरवादले बिभाजनमा पुर्‍यायो’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज)को युग सकिएको बताए । जनवादी क्रान्ति सम्पन्न भएसँगै जबजको औचित्य सकिएको भन्दै उनले अबको कार्यभार समाजवाद रहेको उल्लेख गरे ।

स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका खनालले चन्द्रागिरी रिसोर्टमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्ने क्रममा पार्टीले लिने वैचारिक, राजनीतिक कार्यदिशा नै निर्णायक हुने भएकाले युग सुहाउँदो कार्यदिशा बनाउनु पर्नेमा जोड दिएका थिए ।

‘कमरेडहरु १ जनवादी क्रान्ति पूरा गरिसकेकाले जबजको युग सक्कियो । जबज अब पुँजीवादी सिद्धान्त हो, त्यसलाई अनुशरण गर्न सकिंदैन । अबको कार्यक्रम समाजवादमा रुपान्तरणको हो । हामीले युगअनुसार कार्यक्रम निर्धारण गर्नुपर्छ,’ खनालले भने ।

नयाँ पार्टी गठनलाई क्रान्तिकारी बिद्रोह भनेका नेता खनालले सही बिचार, नीति, कार्यक्रम र कार्यदिशा निर्धारण गर्न सके एक वर्षमै विशाल पार्टी बनाउन सकिने दृढतासमेत प्रकट गरे । ‘हामीसँग सशक्त वैचारिक, राजनीतिक कार्यक्रम, कार्यदिशा बनाउने दृढता र एकता हुनुपर्छ । त्यस्तो भयो भने ठूलो परिवर्तन गर्न सक्छौं । वर्ष दिन नपुग्दै विशाल पार्टी बनाउन सकिन्छ,’ उनले भने ।

आम कार्यकर्ता केपी ओलीको दमन र दक्षिणपन्थी अवसरवादबाट पीडित भएको भन्दै उनले क्रान्तिकारी रुपान्तरणसहित सबैलाई गोलबद्ध गर्न आव्हान पनि गरे । सम्बोधनका क्रममा नेता खनालले केपी ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवादमा पुर्याएको भन्दै त्यसको खण्डनमा सिंगो पार्टी उत्रिनुपर्नेमा जोड दिए । सर्वोच्च अदालतको फैसलालाई पुस्तिकाका रुपमा छापेर देशव्यापी अध्ययनका लागि पठाउन पनि उनले आग्रहसमेत गरे ।

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १३:५८