सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीद्वारा लागूऔषधमा फसाइएका पत्रकारको बयान

‘मैले एउटा बोलें, प्रहरीले अर्कै टाइप गर्‍यो’

एसपी सा’बले म पक्राउ गरेपछि खुशी व्यक्त गरेको अडियो पनि सार्वजनिक भएको छ । यसले घटनामा घुमुवा प्रहरी मात्र छन् भन्ने देखाउँदैन । को कहाँबाट सञ्चालित छन् भन्ने विषयमा अनुसन्धान हुनुपर्छ । मलाई अनाहकमा पक्राउ गराउने कार्यमा संलग्न कसैलाई पनि छुट नहोस् ।

मोहम्मद मोजिबुल्लाह, पत्रकार

मेरो घर इच्छानाथ नगरपालिकामा पर्छ, सदरमुकाम गौरमा बसेर पत्रकारिता गर्छु । घटना हुनु एक दिनअघि मात्रै आमाबुवालाई भेटेर फर्किएको थिएँ । ‘रौतहट एक्सप्रेस’को कार्यालयमा बसिरहेका बेला ग्रीन सिग्नल होटलका सञ्चालकले फोन गरे । ‘होटल खोलेको दुई–तीन महीना भइसक्यो, प्रचार भएको छैन, विज्ञापन गरिदिनुपर्यो, आउनु न’ फोनमा मलाई भनियो । मैले आधा घन्टापछि आउँछु भनें ।

गुलाब भन्ने भाइलाई लिएर बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलमा होटल गएँ । होटलको तल औषधि पसल छ, त्यहाँ मोटरसाइकल पार्क ग¥यौं र होटलमा गएर फोटो भिडियो खिचें । विज्ञापन छाप्ने पनि कुरा भएपछि मैले निस्किन खोजें । तर, साहुले ‘दाइ, कहिल्यै आउनुहुन्न । खाजा खाएन जानु न’ भने । अफिसमा अरू काम भएकाले मैले इन्कार गर्न खोजें । तर उनैले जबरजस्ती गरेर बसाए । आफैं पकाएर ल्याउँछु भनेर भान्सामा छिरेपछि बस्यौं । खाजा खाँदा झण्डै एक घन्टा बित्यो ।

०००

भाइलाई साँचो दिएँ, म पछाडि बसें । १० मिटर जति अगाडि बढेपछि ६ जनाले मोटरसाइकल रोके । शुरूमा नचिने पनि केहीबेरमा सादा पोशाकका प्रहरी रहेछन् भन्ने थाहा भयो । काममा गएर फर्किएको एउटा पत्रकारलाई एकैछिनमा प्रहरीले ठूलो अपराधी जसरी व्यवहार गर्यो । मोटरसाइकल रोकेर छामछाम–छुमछुम गर्न थाल्यो । कुनै हत्या आरोपीलाई जस्तो व्यवहार गर्न थालेपछि अचम्मित भएँ । प्रहरीले मोटरसाइकलको सिट खोल्न खोज्यो– मैले यहाँ होइन, मिस्त्री कहाँ जाउँ भनें ।

फुटाउन खोजेकाले मैले नजिकै रहेको साइकल बनाउने ठाउँमा जान भनेको थिएँ । त्यहाँ गएर सिट खोल्दा केही भेटिएन । त्यसपछि फिल्टरको नट पनि खोल्न खोज्दै थिए । तर एउटा प्रहरी ‘मलाई थाहा छ, कहाँ राखेको छ’ भन्दै अगाडि बढे । एकैछिनमा लेगार्डमुनि बाँधेको जस्तो अवस्थामा ७ वटा ट्याब्लेट निकाले । म तीनछक्क परें । समाचार लेखेको र पत्रकार सम्मेलनमा देखेको कुरा मेरो मोटरसाइकलमा कसरी आयो ? मैले केही सोच्नै सकिरहेको थिइनँ ।

०००

मलाई त्यहाँबाट प्रहरीले मोटरसाइकलमै राखेर जिल्ला प्रहरी कार्यालय, रौतहटमा ल्यायो । केहीबेर कन्ट्रोल रूममा राख्यो, त्यसपछि जिल्लाका डीएसपी नारायणप्रसाद चिमरिया आए । उनले अपशब्द बोल्दै ‘लागूऔषधको काम गर्छस्’ भन्दै गाली गर्न थाले । ‘दुई–तीन वर्षदेखि काम गरिरहेको थिस्, कसैले समातेन । हेर अब म तँलाई १० वर्षसम्म जेल हाल्छु’ भन्दै सुन्नै नसकिने शब्दहरू प्रयोग गरे । मलाई हरेक घटना अनौठो लागिरहेको थियो ।

मैले डीएसपी चिमरियालाई ‘सर, म त्यस्तो काम गर्दिनँ । म पत्रकार मान्छे, समाजमा जनचेतना फैलाउने काम गर्छु’ भनें । तर उनले उल्टै गाली गरे । मैले धेरै आग्रह, अनुनय–विनय गर्दा पनि चिमरिया रोकिएनन् । गाली गरिरहे । म प्रहरी कार्यालयमा पुग्नुअघि नै कागजहरू तयार गरिएको रहेछ । मलाई १० मिनेटमै मेडिकल जाँचका लागि लगिएको थियो । त्यसपछि क्वारेन्टिनमा राखियो ।

सामान्यतया प्रहरीले २४ घन्टा पुग्न लागेपछि अदालतमा लैजान्छ, म्याद थपका लागि । तर मेरो हकमा प्रहरीले यति हतार ग¥यो कि १० बजे खुल्ने अदालतमा ९ बजे नै पुर्यायो । साढे ८ मै सरकारी वकिलको कार्यालयमा लगिसकेको थियो । अदालतमा लगेर आधा घन्टा गाडीमा राखेको थियो । मलाई ठूलो अपराधी सरह गरेर राख्यो । अदालतले ८ दिनको म्याद थप्यो र प्रहरीले क्वारेन्टिनमा ल्यायो ।

भोलिपल्ट अस्पतालमा लगेर पीसीआर जाँच गर्दा नेगेटिभ आएपछि प्रहरी हिरासतमा राख्यो । भदौ २ गतेबाट म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएँ । हिरासतमा विभिन्न मुद्दाका आरोपीहरू थिए, मलाई त्यहाँ बस्दा एकदमै अमिलो महसुस भयो । हिरासतमा बस्दा मलाई राति १०/११ बजेतिर निकालेर मुद्दा फाँटमा लगिन्थ्यो । सोधपुछ गरिन्थ्यो, म एउटा कुरा गरिरहेको हुन्थें, अर्कै कागज बनिरहेको थियो ।

मैले होटलवालाले बोलाएको भनिरहेको थिएँ । प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट तस्करी गरेको हो भनेर टाइप गरिरहेको थियो । मैले यो कागजमा लेखेको कुरा केही मान्दिनँ भनिरहेको थिएँ तर प्रहरी रोकिएन । फेरि सरकारी वकिलको कार्यालयमा बयान दिन जाँदा मैले प्रहरीले जबरजस्ती कागज गराएको बताएँ । त्यसपछि सरकारी वकिलले नै फेरि बयान गराउन भनेको थियो ।

०००

हिरासतमा बसुञ्जेल हरेक दिन आफैंलाई कस्तो पेशा रोजेछु जस्तो लाग्थ्यो । गल्ती नगरी जेल बस्नु पर्दा असाध्यै पीडा हुँदोरहेछ । म कसरी फसें भन्ने हरेक दिन सोचिरहन्थें । एउटा ६ वर्षको सहित तीन जना छोरा छन् । श्रीमती, आमाबुवाले के सोच्नुभयो होला भन्ने चिन्ताले पिरोल्यो । परिवारलाई पनि भेट्न दिएन । अरू मुद्दामा त भेटघाट गर्न पनि दिन्छ । तर मलाई चाहिं किन अत्यन्तै गम्भीर अपराध गरेजस्तो व्यवहार गर्यो ।

आमालाई पनि भगाइदियो । बुवालाई पनि भेट्न दिएन । बल्लबल्ल १० पटकको प्रयासमा काठमाडौंबाट आउनुभएको दाइलाई चाहिं एकपटक भेट्न पाएँ । होटलको तल सीसी क्यामरा छ भन्ने थाहा थियो । मैले उहाँलाई क्यामरा चेक गरिदिन भनें । तर त्यसका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुपर्ने रहेछ । प्रहरी कार्यालयमा दाइ जाँदा निवेदन फ्याँकिदिए । कतिपटक त कार्यालयमा जानै दिएनन् ।

तर पनि लामो समयसम्म दाइले भनिरहे पनि कागज दर्ता नगरे पनि त्यतिकै राखिदियो । तर फुटेज पाउन सकिनँ । पछि पत्रकार मदन ठाकुर दाइले चिनजानको आधारमा सीसीटीभी फुटेज हात पार्नुभयो । त्यसमा कसैले मेरो मोटरसाइकलमा लागूऔषध राखिदिएको देखियो । यो थाहा पाएपछि मैले ठूलो सास फेरें । दाइले निवेदन दिने बित्तिकै जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी र घुमुवा प्रहरी सबैलाई तनाव भइसकेको रहेछ ।

त्यहीबीचमा भिडियो पनि डिलिट गराउने प्रयास पनि भएछ । औषधि पसलवालालाई पैसाको अफर पनि गरिएछ तर, उनले म फस्ने काम गर्दिनँ भन्दै डिलिट गर्न मानेनछन् । पछि डीएसपी नारायण चिमरियालाई पेन ड्राइभमा फुटेज दियौं । उहाँले हेर्ने आश्वासन दिए पनि केही भएन । गालीगलौज गर्ने क्रम पनि रोकिएन । त्यसपछि साथीहरूले फुटेज बाहिर ल्याउनुभयो ।

०००

मैले प्रहरीले गरेको पत्रकार सम्मेलनमा पनि प्रहरीको व्यवहारबारे बोलेको थिएँ । डीएसपी चमरिया निन्याउरो मुख लगाएर बसिराख्नुभयो, मलाई एक शब्दसम्म केही भन्नुभएन । छाड्ने बेलासम्म पनि कसैले ‘सरी’सम्म पनि भनेन । निर्दोष मान्छेलाई अनाहकमा दुःख दियो । म प्रहरीको चाप्लुसी गर्न जान्दिनँ ।

सीमावर्ती क्षेत्र भएकाले यहाँ तस्करी हुन्छ, त्यसको बारेमा समाचार लेख्छु । भ्रष्टाचार भइरहेको हुन्छ, त्यसबारे लेख्छु । यिनै विषयलाई लिएर मलाई रिसइबी साधिएको हुनसक्छ । एसपी सा’बले म पक्राउ गरेपछि खुशी व्यक्त गरेको अडियो पनि सार्वजनिक भएको छ । यसले घटनामा घुमुवा प्रहरी मात्र छन् भन्ने देखाउँदैन । को कहाँबाट सञ्चालित छन् भन्ने विषयमा अनुसन्धान हुनुपर्छ । मलाई अनाहकमा पक्राउ गराउने कार्यमा संलग्न कसैलाई पनि छुट नहोस् ।

म त विनासित्तिमा ९ दिन हिरासत बसें, मैलेजस्तो अरू कसैले भोग्नु नपरोस् । अब हुने छानबिनमा पनि कुनै पनि निर्दोष व्यक्ति नफसोस्, दोषीलाई नछोडोस् । प्रहरीले बार्गेनिङ नगरोस्, यति भए मैले न्याय पाएको महसूस गर्नेछु । (लागूऔषध सम्बन्धी कसूरमा नौ दिन प्रहरी हिरासतमा बसेर निर्दोष साबित भएका पत्रकार मोहम्मदसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।) (अनलाइन खबरबाट)

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार १३:३०