सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रभाव कायम रहेका कारण भारी वर्षाको सम्भावना रहेको छ । भारी बर्षाको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आफ्नो दैनिक बुलेटिनमार्फत महाशाखाले सबैलाई सचेत रहन आग्रह गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले देशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।’

बुलेटिनमा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागको केही नजिक रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार ०९:०४