बाँके । नेपालको भूमिबाट पनि चीनको मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न सकिने भएपछि अहिले नेपाली पर्यटन व्यवसायीहरू नेपालबाटै स्वदेशी र विदेशी पर्यटकलाई कैलाश मानसरोवरको दर्शन गराउने अभियानमा लागेका छन् ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६, लिमी लाप्चा भञ्याङबाट मानसरोवर कैलाश दर्शन गर्न सकिने भएपछि पर्यटन व्यवसायीले भारत र नेपालका पर्यटकलाई त्यहीबाट मानसरोवर दर्शन गराउन थालेका छन् ।
कोभिड–१९ का कारण हिल्सा नाका बन्द गरिएकाले चीनको मानसरोवर कैलाश दर्शन गर्न जानसक्ने अवस्था नभएपछि हुम्लाको लिमी लाप्चासम्म पर्यटक लगेर त्यहाँबाटै दर्शन गराउने तयारी गरिएको ट्रेकर सोसाइटी ट्राभल्सले जनाएको छ ।
त्यसका लागि ६० जना विदेशी पर्यटकलाई पहिलो खेपमा भदौ २४ गते नेपालगन्ज भएर लिमी लाप्चा लैजान लागेको ट्रेकर सोसाइटी ट्राभल्सका नेपालगन्ज कार्यालयका प्रमुख टकला रावतले बताए ।
स्वास्थ्य मापदण्डको पालना गरेर पीसीआर परीक्षण गराई खोपसमेत लगाइसकेका पर्यटकलाई मात्र लिमी लाप्चा लैजान लागेको रावतले बताए । उनले सो अभियानमा सहयोग गर्नका लागि शनिबार नेपालगन्जबाट ट्राभल्सका १९ जना र सुर्खेतबाट २८ जना गरी ४७ जना कर्मचारीलाई हुम्ला पठाइएको बताए ।
लिमी लाप्चा लैजाने विदेशी पर्यटकलाई काठमाडौँबाट नेपालगन्ज ल्याएर यहाँबाट हवाई मार्गमार्फत हुम्ला पुर्याइने र त्यहाँबाट पैदलै लाप्चासम्म पुर्याएर मानसरोवर दर्शन गराइने ट्रेकर सोसाइटी ट्राभल्सले जनाएको छ । दुई वर्ष पहिलेसम्म प्रत्येक वर्ष सातदेखि १० हजारसम्म भारतीय धार्मिक पर्यटक हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्ने जाने गरेका थिए ।
तर कोभिड–१९ का कारण दुई वर्ष पहिले सो यात्रामा रोक लगाइएको थियो भने चीनले हिल्सा नाका बन्द गरेको थियो । चीनको मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि नेपालकै लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या भने बढेको सो ट्राभल्सले जनाएको छ ।
नेपालबाटै कैलाश मानसरोवर दर्शन गराउने कार्य सुरु गरिएको थाहा पाएर नेपालगन्जका स्थानीय होटल व्यवसायी खुसी छन् । होटल व्यवसायी सङ्घ बाँकेले हुम्लाबाटै मानसरोवर दर्शनको प्रचारप्रसार भारतमा राम्ररी गर्न सकिए भारतीय पर्यटक आगमन फेरि बढ्ने र नेपालगन्जका होटल फस्टाउने विश्वास गरेको छ । यसैगरि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले पनि हुम्लाको लिमी लाप्चाबाटै मानसरोवरको दर्शन गराउने कार्यको स्वागत गर्दै यसले यहाँको पर्यटन क्षेत्रलाई माथि उकास्न ठूलो सहयोग गर्ने विश्वास गरेको छ ।
।