सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार फसाउन खोज्दा आफैं फसे घुमुवा प्रहरी

काठमाडौं । नियम विपरित राखिएका घुमुवा प्रहरीले पत्रकार फसाउन खोज्दा आफैं फसेका छन् । प्रहरी प्रधान कार्यालयले घुमुवा प्रहरी नराख्न गरेको परिपत्रलाई समेत वेवास्था गरी रौतहटमा परिचालन भएका घुमुवा प्रहरीले पत्रकारकै मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोज्दा आफैं फसेका हुन् ।

पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाइएका दुई प्रहरी अहिले निलम्बनमा परेका छन् । रौतहटका सञ्चारकर्मीले प्रहरीका घुमुवाले अनियमितता गरेको समाचार लेखेपछि उनीलाई लागुऔषध प्रयोग गरी सुनियोजित तवरले फसाउन खोजेका थिए ।

जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी थप कारवाहीको प्रकृया अघि बढेको रौतहट जिल्ला प्रहरी कार्यालयमा एसपी सिद्धविक्रम शाहले बताए । असइ यादव र प्रहरी जवान जिप्रका रौतहटका घुमुवा हुन् । पत्रकार मोहम्मद मोजिबुल्लाहले प्रयोग गरेको मोटरसाइकलमा लागुऔषध राखेर पक्राउ गरेका थिए ।

उनीहरूको प्रत्यक्ष संलग्नतामा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध लुकाई पत्रकारलाई पक्राउ गरेपछि त्यसको भिडियो बाहिर सार्वजनिक भएको थियो । त्यसका लागि उनीहरूले स्थानीय युवा धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोटरसाइकलमा ‘नाइट्राभेट’ नामक लागुऔषध राख्न लगाएका थिए ।

प्रहरीले घटनामा संलग्न धीरज र जितेशकुमारलाई पनि पक्राउ गरेको छ  । केही दिन अघि पत्रकाहरुले घुमुवा प्रहरीले नै सीमा नाकाबाट तस्करी गर्न सहयोग गरेको समाचार प्रकाशन भएको थियो । असइ उदय र प्रहरी जवान मनोजको निर्देशनमा धीरज र जितेशकुमारले ३२ साउनमा स्थानीय होटेल अगाडि पार्क गरी राखेको मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेका थिए ।

मोजिबुल्लाह भने होटेलभित्र खाजा खान छिरेका बेला उनीहरु लागुऔषध राखेपछि घुमुवा प्रहरी पुगेर उनलाई पक्राउ गरिएको थियो । लागुऔषध राखेलगत्तै उनीहरूले नै प्रहरीलाई खबर गरेका थिए । घटनाको पाँच दिनपछि होटेलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि मात्र प्रहरीकै मिलेमतोमा मोजिबुल्लाहलाई फसाइएको रहस्य खुलेको थियो ।

घटनामा अर्का पत्रकार सञ्जय सहनीको समेत संलग्नता रहेको एसपी शाहले दावी गरेका छन् । नेपाल प्रहरीमा विशेष अप्रेशनका लागि बाहेक सादा पोशाकमा प्रहरी परिचालन गर्न पाइदैन तर तराईका हरेक जिल्लामा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । ‘हामीले सादा पोशाकमा प्रहरी परिचालन नगर्न निर्दैशन दिइसकेका छौ,’ प्रहरी प्रधानकार्यालका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १४:४५