सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

दैलेखका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

दैलेख । दैलेखमा नेकपा एमाले विभाजन भएसँगै ११ वटा स्थानीय तह रहेको जिल्लामा दुई जना उपप्रमुख, दुई अध्यक्षसहित ६ जना नेकपा समाजवादीमा (माधव नेपाल समूह) खुलेका छन् । समाजवादीमा खुल्ने मध्येमा चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही (खत्री), नारायण नगरपालिकाकी उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही रहेका छन् ।

यस्तै महावु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढा पनि समाजवादीमा खुलेकी छन् भने ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह पनि समाजवादी पार्टीमा खुलेकी छन् । यसअघि माधव समूहमै रहेका चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले तटस्थ बसेका छन् । माधव समूहकै नेतामा रुपमा चिनिएका ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही भने अहिले ओली पक्षमा लागेका छन् ।

उल्लेखीत जनप्रतिनिधिहरु शनिबार नेकपा समाजवादीको जिल्ला भेलामा समेत सहभागी भएका कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका नेकपा समाजवादीका नेता अम्मरबहादुर थापाले बताए । चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी उपप्रमुख ताराकुमारी शाही (खत्री)ले विगत देखिनै आफू माधव नेपाल पक्षमा रहेको बताइन् ।

सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै गत फागुन २३ मा एमाले ब्युताएपछि विभिन्न राजनीतिक र सांगठनिक मुद्दामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल बीच बढ्दै गएको मतभेद विभाजन सम्म पुगेको हो । एमालेको विभाजनपछि ओली र नेपालबीचको पाँच दशक लामो सहकार्यमा सम्बन्ध विच्छेद भएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १३:३९