बुटवल । लुम्विनी प्रदेशसभा सदस्य बिमला ओली खत्रीबिरुद्ध दाङ जिल्ला अदालतमा अंश मुद्धा परेको छ । बिमला वली खत्रीका दुई छोराहरु प्रणय वली र दिवाकर वलीको तर्फबाट उनीहरुका साहिलो बुवा अमरबहादुर वलीले उक्त मुद्दा दर्ता गरेका हुन् ।
दाङ जिल्ला अदालतका श्रेष्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउँपालिका वडा नं ६ लेटारका रत्नबहादुर ओलीको छोरा अमरबहादुर वलीले नावालक छोराहरु १२ बर्षीय प्रणय वली र ९ बर्षिय दिवाकर वलीको तर्फबाट निवेदन दर्ता गरेको जानकारी दिए ।
श्रेष्तेदार गिरीका अनुसार भदौ ३ गते पेश भएको उक्त मुद्धाको दर्ता नं ०७३–०७८ –००३६२ रहेको छ । निवेदकले बिपक्षी बिमला कुमारी खत्री वलीबाट नावालक छोराहरुको सम्पतीको हिनामिना हुने अवस्था आएकोले उक्त सम्पतीको संरक्षण र नावालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गर्दै निवेदन पेश गरेको बताइएको छ ।
निवेदक अमरबहादुर वली बिमला खत्री वलीका जेठाजु तथा स्वर्गीय उत्तर कुमार वलीका सहोदर साहिलो दाजु हुन् । निवेदक ओलीले पछिल्लो बिकसित घटनाहरुले आफुलाई बिमला वलीबाट उत्तर कुमार वलीका नावालक छोराहरुको सम्पतीको असूरक्षा देखिएकोले सम्पतीको संरक्षणका लागि अदालत पुगेको बताए ।
बिमला सम्पर्कमा आएको भए त्यो अवस्था हुदैनथ्यो होला तर उनी चार महिनादेखि हाम्रो सम्पर्कमा छैनन् त्यसैले अदालत पुग्नुपर्ने बाध्यता आयो उनले भनेका छन् । उनले भने, ‘अरु धेरै कुरा हामीलाई भन्दा तपाईहरुलाई थाहै छ । पछिल्लो पटक सामाजिक सञ्जालमा भाइरल भएको घटनाक्रमले हामीलाई ससंकित बनायो त्यसैले निवेदन पेश गरेको हुँ ।’
नेकपा एमालेको तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि २०७६ सालमा सम्पन्न उप निर्वाचनमा तत्कालिन नेकपाको तर्फबाट निर्वाचित बिमलाकुमारी खत्री वलीको पार्टीको आवद्धताका बिषयमा बिवादास्पद बनेको छ ।
।