सूचनाको शक्ति - The Power Of Information

        

विचार

धार्मिकस्थलमाथि राजनीति गर्नु कति उचित ?

नेपालगन्जस्थित कब्रिस्तान, ईदगाह, जामा मस्जिदजस्ता धार्मिकस्थल कुनै समितिको वा समितिमा रहेका सदस्यहरुको पेवा होइन, न कुनै राजनीतिक दलको व्यक्तिको नीजि सम्पत्ति हो । धार्मिक आस्थासँग जोडिएका स्थलजस्तै नेपालगन्जमा रहेको कब्रिस्तान, ईदगाह र जामा मस्जिद आदिको संरक्षण गर्नु सम्पूर्ण मुस्लिम समुदायको कर्तव्य र सरोकारको विषय हो । यसकारण कसैले यो वा त्यो बहाना हस्तक्षेप र समुदायको मन्जूरी बिना त्यहाँ कुनै कार्य गर्न पाउने छैन । जबकी समुदायकै दानका भरमा यी धार्मिक स्थलहरु चलिरहेछन् ।

तथापी बिसौ वर्षदेखि कब्रिस्तान, ईदगाह र जामा मस्जिदको कुनै आर्थिक लेखाजोखा समुदाय माझ सार्वजनिक गरिएको छैन । यसकारण कब्रिस्तान, ईदगाह र जामा मस्जिद जस्ता धार्मिकस्थलको सार्वजनिक लेखापरिक्षण र सार्वजनिक सुनुवाई गरी सम्पूर्ण आर्थिक हिसाबकिताब लेनदेन, सम्पत्ति, धितो, ऋण भुक्तानी पाउनुपर्ने रकम कति छन् ? ती सबैबारे जानकारी गराइयोस् । बेलाबेला कब्रिस्तानमा माटो पटान समुदायले गर्छ, कब्रिस्तानमा हिँड्ने पक्की बाटो वडा कार्यालयले बनायो र जस्तापाता पूर्वमन्त्री माननीय मोहम्मद इस्तियाक राई ज्यूले हाल्नुभयो ।

आखिर आउने जति रकम खर्च कहाँ गरिन्छ ? कति कर्मचारीहरु छन् र तिनलाई के कति तलब दिइन्छ ? कब्र खुदाईका लागि कसले भुक्तानी गर्छ र कति रकम भुक्तानी गर्छ त्यसको रसिद कहाँ हुन्छ ? कब्रिस्तानमा सटर बनाउनुको कारण के छ ? हालसम्म उठ्दै आएको चन्दा, दान र कब्र खुदाईबाट आउने रकम कसलाई अपुग छ कब्रिस्तानमा रहेका कब्र खोद्ने व्यक्ति वा मृतक या समिति ? यी यावत विषयमा सम्बन्धित सरोकार राख्नेहरु मार्फत यथास्रीघ पारदर्शिताका साथ साझा गरियोस् ।

यसका साथै नेपालगन्ज जस्तो बाक्लो मुस्लिम बसोबास रहेको ठाउँमा रहेको एक मात्र कब्रिस्तान हो । जुन कि जनघनत्वको हिसाबले हेर्दा सानो रहेको सर्वविदित नै छ । त्यही सानो कब्रिस्तानलाई झन् सानो पार्दै पसलको लागि सटर निर्माण गर्न कब्रिस्तानमा दफन रहेको कुन चाहिँ मृतकले कसलाई खबर गरेको थियो । जुन समुदायको बिना मन्जूरी कब्रमाथि सटर निर्माण गर्न कब्र नै खनिए । खनिएका कब्रमा मृतकका हाड र कफन (कात्रो)समेत निस्केको स्थानीयहरुको भनाई छ ।

जबकी शरीयते इस्लामले भन्छ, ‘कब्रमाथि कब्र बनाउन सकिन्छ, तर कब्रमाथि कुनै पनि भौतिक निर्माण गर्नु, जुत्ता चप्पल लगाएर हिँड्नुजस्ता कार्य शरीयते इस्लामको विरुद्ध कार्य हो ।’ जब सटर निर्माण हुन्छ त्यो नै शरीयतको विरुद्ध कार्य हो अझ निर्माण गरिएका सटरमा बस्नेहरु साहु र आउने ग्राहक जुत्ता चप्पल लगाएर उभिन्छन् हिँड्छन् भने त्यो महापाप हुन जान्छ । नजानेर कुनै कब्रमाथि हिँड्नु वा उभिनु बेग्लै कुरा हो तर कब्र रहेका ठाउँमा जानी जानी भवन निर्माण गरी जुत्ता चप्पल लगाएर उभिनु धार्मिक हिसाबले अल्लाहको नजिक क्षम्य हुँदैन ।

धर्ममाथि राजनीति गरेको त सुनिएको थियो, तर कब्रिस्तानमाथि नै राजनीति गर्नु कतिको उचित होला ? मैले कसैको समर्थन र विरोध गरेको होइन्, आफु पनि मुस्लिम समुदायको जिम्मेवार व्यक्ति र देशको जिम्मेवार नागरिकको हैसियतले जायज कुरामात्र गरेकी हुँ । किनभने यो मेरो पनि सरोकारको विषय हो म पनि मरेपछि जाने अन्तिम र स्थायी ठेगाना कब्रिस्तान नै हो । यदि तपाईको पनि सरोकारको विषय छ भने अवश्य आवाज उठाउनुहोस् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १५:५८