सूचनाको शक्ति - The Power Of Information

        

बीजेपी नेता चौथाइवालेसँग प्रधानमन्त्रीको भेटघाट

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएका छन् । उनले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

नेपालमा सरकार परिवर्तन र राजनीतिक दलसम्बन्धी अध्यादेशले तरंग पैदा गरेको बेला भारतीय नेताहरुको आगमन तीव्र भएको छ । भेटमा दुई देशबीचको हित र अन्तरपार्टी सम्बन्धबारे छलफल भएको बताइएको छ ।

चौथाइवालेले भेटका क्रममा प्रधानमन्त्री देउवाले सफल कार्यकालको शुभकामना दिनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट सन्देश सुनाएको बताइन्छ ।

देउवासँग भाजपा र नेपाली कांग्रेसको सम्बन्ध विस्तारबारे समेत छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका छन् ।

आइतबारै उनले कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेटघाट गरेका छन् । केही दिन काठमाडौंमा रहँदा उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको र एमाले विभाजित भएको अवस्थामा भारतीय नेताहरुको दौडधुपलाई चासोका साथ हेरिएको छ ।

भाजपाका वरिष्ठ नेतामध्येका एक डा. दिनेश उपाध्याय पनि केही दिनदेखि काठमाडौंमा छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार ०८:०७