सूचनाको शक्ति - The Power Of Information

        

समाचार

आज जनै पूर्णिमा, राखी बाँधेर मनाइँदै, यस्तो छ धार्मिक महत्व

फाइल तस्वीर

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षा बन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षा बन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

तागाधारीले यज्ञोपवीत धारण गर्दै

आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि नेपालगन्जको बागेश्वरी मन्दीर परिसर, पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायक लगायत वाग्मती नदीको किनार र काठमाडौं उपत्यका लगायत देशभरका मठमन्दिरमा भक्तजनको भिड लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

पशुपतिनाथ मूल मन्दिर लगायत देशभरका महत्वपूर्ण मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । मन्दिरमा नित्य पूजाबाहेकका कर्म निषेध गरिएको छ । पशुपतिनाथ लगायत मन्दिर परिसरको बाहिरी क्षेत्रमा भने जनै फेर्ने र डोरो बाँध्ने भक्तजनको गत वर्ष पनि भिड लागेको थियो ।

क्वाँटीको परम्परा

जनै पूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा. शेषराज आचार्य बताउँछन् । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उनले सुनाए ।

तराई क्षेत्रमा राखी बाँधिदै

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विगत वर्षमा सरकारले यस दिनको बिदा काटेकामा जनस्तरबाट व्यापक विरोध आएपछि बिदा दिइएको बताइएको छ ।

धार्मिक महत्व

हाम्रो वैदिक परम्परामा श्रावण शुक्ल पूर्णिमा तिथिलाई विशेष प्रकारले मान्यता दिँदै आइरहेको पाइन्छ । यस पर्वलाई श्रावणी पर्व पनि भनिन्छ । खास गरी यस तिथिमा द्विजातिले ( ब्राह्मण, क्षत्री र वैश्य) विशेष गरी यो पर्व मनाउँछन् । व्रतबन्धद्वारा मानवलाई द्विजातिमा रूपान्तरण गरिएको हुन्छ । यस दिनमा गायत्री मन्त्रको विशेष महिमा छ । गुरुद्वारा प्राप्त गायत्री मन्त्र सिद्धिका लागि र ब्रह्मतेज वृद्धिका लागि यो दिनमा ऋषिहरूको तर्पण गरिन्छ ।

वेदशास्त्र नै ऋषिहरूको देन हो । शास्त्र नै हिन्दु दर्शन, धर्म संस्कृतिको मेरुदण्ड हो । आर्ष वाङ्मय नै हाम्रा सम्पूर्ण शास्त्र हुन् । सके सधैँ नसके वर्षको एकपटक ऋषिको स्मरण र तर्पण गर्नाले हाम्रो अन्तःकरण शुद्धि हुने हुँदा ऋषितर्पणीपर्वको विशेष महिमा रहेको छ । ऋषितर्पणीको दिनभन्दा पूर्व दिनमा नै द्विजातिले एकभक्त रही कपाल, नङकाटी शुद्ध रही एकछाक फलाहार गरी व्रतको अनुष्ठानमा बसेको हुनुपर्छ । ऋषि तर्पणीका दिन बिहानै सप्तमृत्तिका र गोमुत्रले स्नान गरी सके नदी किनारमा नसके धारा, कुवा तलाऊ आदिमा गई वेद मन्त्रोच्चारणसहित ऋषिहरूको तर्पण गर्नुपर्दछ ।

त्यो ऋषि तर्पणीको दिनलाई जनै पूर्णिमा भनिएकाले त्यो दिनमा पुरानो जनै त्यागी नयाँ जनै धारण गर्ने र आह्निकमा बताए बमोजिम ऋषि तर्पण गरेमा ऋषिऋणबाट मुक्ति मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको पाइन्छ । ऋषितर्पणी पश्चात् रक्षाबन्धन धारण गर्ने चलन रहेको पाइन्छ । वेदका मन्त्रद्वारा मन्त्रणा गरिएको रक्षा बन्धनले धर्म ,अर्थ काम र मोक्ष यी चतुर्विध साधन सहित मानिस शरीरको समेत रक्षा हुने हुनाले रक्षा बन्धन भनिएको हो ।

यदि श्रावण शुक्ल पूर्णिमा तिथिमा ग्रहण लागे अथवा सूर्य सक्रान्ति परे ऋषि तर्पणी आदि श्रावणी उपाकर्म नाग पञ्चमीकै दिन गर्नुपर्ने हुन्छ भन्ने कुरा धर्मशास्त्रमा लेखिएको छ । त्यसै दिन नयाँ बनाइएको जनै र रक्षाबन्धनका धागालाई रुद्राभिषेकको जलले सेचन गरी मन्त्रणा गरेपछि मात्रै त्यो मन्त्रणा गरिएको जनै, धागो धारण गर्न योग्य मानिन्छ । मन्त्रणा गरिएको जनै धारण गर्दा वेदका निम्न मन्त्रले धारण गर्ने चलन छ ।

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।

यो मन्त्रले जनै धारण गर्ने चलन रहि आएको छ। त्यस्तै पुरानो जनै त्याग गर्दा यो मन्त्र प्रयोग गरिन्छ ।

एतावद्दिनपर्यन्तं ब्रह्त्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथा सुखम् ।।

त्यसैगरी रक्षाबन्धन धारण गर्दा निम्न मन्त्रले धारण गर्ने चलन छ ।

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः ।
तेन त्वं प्रतिगृण्हामि रक्षमा चलमा चल ।

यसैगरी यही ऋषितर्पणीका दिनमा हाम्रो नेपाली समाजमा मास, चना, भटमास, वकुल्ला, केराऊ, मुगी, मस्याङ आदि गेडागुडीलाई तीनचारदिन अघिदेखि नै भिजाएर टुसा उम्रेपछि पकाउने चलन छ । टुसा उम्रेको गेडागुडीलाई क्वाँटी भन्ने चलन छ । हिजोआज सबै नेपालीका घर घरमा ऋषितर्पणीका दिनमा क्वाँटी पाकाउने चलन रहिआएको पाइन्छ । क्वाँटीबाट प्रोटिन मिल्दछ यसले तागत दिन्छ । यसै दिन ब्राह्मण , कन्या कुमारी, आ–आफ्ना गुरुपुरोहितलाई टीका माला दक्षिणा गरी सत्कार गरी भोजन गराउने चलन छ ।

यसै दिनमा तराई क्षेत्रमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई राखिबाँधिदिने चलन पनि चलि आएको पाइन्छ । यही ऋषितर्पणीका दिनमा देशका विभिन्न तीथस्थलहरूमा रहेका शिवालयहरूमा विशेष जात्रा तथा मेला लाग्ने चलन पनि चलिआइरहेको छ । काठमाडौं जिल्लामा पशुपतिनाथ, पाटनको कुम्भेश्वर, शिवपुरीमा रहेको मणिचूड, रसुवा जिल्लामा रहेको गोसाईँकुण्ड, सिन्धुपाल्चोक जिल्लामा रहेको पाँचपोखरीमा त्यो दिन ठूलो मेला लाग्दछ । पाँच पोखरी मेलामा आउने तीर्थालुलाई निःशुल्क चौँरी गाईको दही र चिउरा खुवाउने परम्परा रहिआएको छ र यो चाहिँ स्थानीय गूठी अनुसार व्यवस्था गरिएको हो ।

विशेषगरी तामाङ जातिमा धामी झाँक्रीहरूले आ–आफ्ना कूल देवताको पूजा गरी जामा, पगरी लगाई घण्टा माला रुद्राक्ष र रिट्ठाका माला लगाई मन्त्रसिद्ध गरी समूह समूह मिलेर ढ्याङ्ग्रो बजाउँदै जात्रा जाने चलन छ । त्यसै दिन आ–आफ्ना खेत बारीमा रहेका सीमे भूमे देउराली देवताको पूजा गरी नवान्न (मकै) फलफूल चढाएपछि मात्रै नयाँ अन्न खाने चलन छ । विशेष गरी पहाडीया समूदायमा ऋषि तर्पणीकै दिनमा नयाँ मकै देवतालाई चढाउने दिनको रूपमा पनि लिइन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतवार ०९:०९