सूचनाको शक्ति - The Power Of Information

        

दैवको लिला

३२ महिनाको छोरा काखमै च्यापेर सधैंका लागि अस्ताइन् ‘धर्माकुमारी’

बाँके । रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन् ।

बस चढेपछि धर्माकुमारीले त्यसको जानकारी श्रीमानलाई दिइन् । बाँकेको नेपालगन्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि उपचारका लागि भनेर धर्माकुमारी नाबालक छोराको साथ बस चढेकी थिइन् । साउन ४ गतेदेखि नेपालगन्जमा बस्दै आएका दलबहादुर बिल्डिङ सम्बन्धी ठेक्कापट्टाको काम गर्छन् ।

‘घरमा आमा छोरा मात्रै बस्थे । उपचार गर्न नेपालगन्ज जाने भनेर धर्माकुमारीले घरधन्दाको काम बिहीबार दिउँसो सबेरै सकिन् । आफू फर्केर नआउँदासम्म घर रेखदेख गरिदिने आफन्त र छरछिमेकलाई मिलाइन्,’ दलबहादुरले भने, ‘भिडियो एक्सरे गर्दा पनि मेरो नर्मल अवस्था देखाएको छ, भन्ने गर्थिन् ।’

श्रीमान दलबहादुरका अनुसार धर्माकुमारीले जिल्लाकै अस्पताल र मेडिकलमा उपचार गराएकी थिइन् । केही दिन पहिले मात्रै सल्लेका मेडिकल पुगेर उपचार गराएकी थिइन् । उनीहरुकै सल्लाहमा औषधि सेवन गरिरहेकी थिइन् । तर, विशेक भएन । त्यसैले श्रीमान दलबहादुरले थप उपचारका लागि नेपालगन्ज बोलाए ।

दलबहादुरका अनुसार धर्माकुमारी मुटुको बिरामी थिइन् । प्रेसर हाइ र लो हुने समस्या पनि थियो । त्यसअगाडि उनले उपचारका लागि झन्डै चार लाख खर्चिएका थिए । ‘उनको माइती डडेलधुराबाट पनि उपचारमा सहयोग भएको हो र मैले पनि श्रीमतीको उपचार गर्दै आएको थिएँ,’ श्रीमान दलबहादुरले भने ।

श्रीमती धर्माकुमारी र नाबालक छोरा बसमा चढेपछि दलबहादुर निरन्तर सम्पर्कमा थिए । बस छेडा भन्ने ठाउँमा आएपछि खाना खाए । ‘मैले श्रीमतीसँग आधा घन्टा जति फोन गरेँ,’ दलबहादुरले भने, ‘मलाई श्रीमतीले आफू सामान्य अवस्थामा रहेको र आरामले यात्रा गरिरहेको हुँदा चिन्ता नगर्न भनिन् ।’

धारापानी भन्ने ठाउँमा दलबहादुरले फेरि श्रीमती धर्माकुमारीलाई फोन गरे । त्यतिबेला पनि धर्माकुमारीले श्रीमान दलबहादुरलाई आफ्नो अवस्था सामान्य रहेको र आरामले यात्रा गरिरहेको तथा बसमा अरु पनि मानिसहरु रहेको हुँदा चिन्ता नगर्न आग्रह गरिन् । त्यसपछि फोन सम्पर्क हुन सकेन ।

रात छिप्पीसकेको हुँदा दलबहादुर पनि श्रीमतीलाई शुक्रबार बिहान नेपालगन्जमा भेट्ने मिठो कल्पनाका साथ सुते । राडी हुँदै जाजरकोट, सुर्खेत, बर्दियाको बाटो भएर कोहलपुर पुग्न सकिन्छ । बेलुका साढे ५ बजे हिँडेको गाडी अर्कौ दिन बिहान साढे ५–६ बजेतिर मात्रै कोहलपुर पुग्न सक्छ ।

दुरी झन्डै पौने ३०० किलोमिटर रहे पनि सबै पहाडी भूभाग पर्ने हुँदा यात्रा कठिन र ढिलो हुन पुग्छ । धर्माकुमारी चढेको बसमा उनकै सिटको अर्को सिटमा २७ वर्षीय अर्जुन केसी पनि यात्रारत थिए । धर्माकुमारी छोरासँगै बसेकी थिइन् । वान्ता हुन थालेपछि धर्माकुमारीले केसीसँग पोलेथिनको झोला मागिन् ।

त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाई दिन केसीलाई आग्रह गरिन् । केसीले आफू बसेको झ्याल नजिकको २ नम्बर सिट धर्माकुमारीका लागि छोडिदिए । सिटमा आमा छोरा एक्लै बसे । केसी १ नम्बर सिटमा एक्लै बसे । बोटेचौर भन्ने ठाउँमा आइपुगेपछि धर्माकुमारीले दुई–तीन पटक वान्ता गरिन् । तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसिन् ।

मध्यरात भइसकेको थियो । बस आफ्नै गतिमा अगाडि बढिरहेको थियो । सबै यात्रु निदाएजस्तै वातावरण थियो । बर्दियाको हर्रे लेक आइपुग्दा एकाएक ३२ महिनाका किरण बटला रोएको आवाज केसीले सुने । ‘यसो फर्केर मैले हेर्दा बच्चा सिटदेखि तल खसेको मैले देखे,’ केसीले भने, ‘त्यसपछि म लगायत अरूले धर्माकुमारीलाई उठाउन खोज्यौं, तर उहाँ हलचल गर्नुभएन ।’

धर्माकुमारी बसको सिटमै कहिल्यै नउठ्ने गरि चीर निन्द्रामा सुतिसकेकी थिइन् । उनको अवस्थाले बसमा यात्रारत सबै दुःखी र निराश बने । कतिले नजिकै बबईमा उपचारका लागि मेडिकलमा तत्काल लैजान सल्लाह गरे । तर, त्यहाँ पनि मेडिकल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर पुर्याउने सबैले सल्लाह गरे । धर्माकुमारीकी गाउँकै अर्की एक महिला पनि बसमा सवार थिइन् ।

उनैले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन् । बच्चा रोइरहेको हुँदा केसी लगायत बसमा यात्रारत अरू यात्रुहरुले पालैपालो समाते । शुक्रबार बिहान श्रीमतीलाई सकुशल नेपालगन्जमा स्वागत गर्ने प्रतिक्षमा बसेका दलबहादुर एकाबिहानै श्रीमतीलाई सदाको लागि गुमाउनु परेको खबर सुन्दा छाँगाबाट खसेझैं भए ।

उनी पौने ६ बजेतिर गाडी लगेर बस आउने ठाउँ कोहलपुरको दश बिगाह पुगे । छोरा बुवा देखेर अलि शान्त बन्यो । रोइरहेको छोरालाई चुम्बन गर्दै त्यहाँ आफन्तको जिम्मा लगाएर उनले अस्थित भइसकेकी श्रीमती धर्माकुमारीलाई तत्कालै त्यही नर्सिङ स्टाफ बोलाएर चेकजाँच गर्न लगाए । ‘अब उहाँको सम्भावाना छैन,’ भन्ने वाक्यले उनका आँशु झरे ।

तुरुन्तै उनले गाडी दौडाउन लगाएर नेपालगन्जस्थित भेरी अस्पतालमा पुर्याए । तर चिकित्सकहरुले उनको मृत्यु भईसकेको घोषणा गरे । श्रीमान दलबहादुरसँगको सल्लाह अनुसार उपचार गर्न नेपालगन्ज आउने क्रममा उनको बसमै मृत्यु भएकी धर्माकुमारीको शनिबार बाँकेमै अन्त्यष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।  (नारायण खड्का/सेतोपाटीबाट)

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार १४:४८