सूचनाको शक्ति - The Power Of Information

        

समाचार

यूनिसेफले भन्यो, ‘जलवायु परिवर्तनले विश्वभर एक अर्ब बालबालिका जोखिममा’

काठमाडौं । विश्वमा हरेक दुईमध्ये एक बालबालिका जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभावको शिकार हुने अवस्थामा रहेका यूनिसेफले जनाएको छ । मध्य अफ्रिकी गणतन्त्र, चाड, नाइजेरिया, गिनी र गिनी–बिसामा रहेका बालबालिकाहरू जलवायु परिवर्तनको सबैभन्दा बढी खतरामा छन् ।

जलवायु परिवर्तनले बाल अधिकारलाई पनि संकटमा पारेको छ । ‘जलवायु परिवर्तनका कारण बालबालिकामा जोखिम सूचकांकको परिचय’ शीर्षकमा गरिएको अध्ययनमा यूनिसेफले आफ्नो युवा जनसंख्याको जलवायु र वातावरणीय प्रभावको आधारमा देशहरूलाई स्थान दिंदै बालबालिकाको दृष्टिकोणबाट जलवायु जोखिमको पहिलो व्यापक विश्लेषण गरेको जनाएको छ ।

विश्वका दुई अर्ब २० करोड बालबालिकामध्ये झन्डै एक अरब केटाकेटी ’अत्यन्तै जोखिमपूर्ण’ वर्गीकृत ३३ देशहरूमा बसोबास गरिरहेका यूनिसेफको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सो अध्ययनमा विचार गरिएका खतराहरूमा बाढी, चक्रवात, ताप लहर, पानीको अभाव, वायु प्रदूषण, सीसा प्रदूषण र संक्रामक रोगहरू समावेश छन् ।

‘जलवायु र वातावरणीय प्रभावले स्वच्छ हावा, भोजन र सुरक्षित पानीको पहुँचदेखि लिएर शिक्षा, आवास, शोषणबाट स्वतन्त्रता र बाँच्न पाउने तिनीहरूको अधिकारलाई समेत बालबालिकाको अधिकारको पूर्ण क्षेत्रलाई कमजोर बनाइरहेको छ,’ प्रतिवेदनमा लेखिएको छ । यूनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, ‘वास्तवमा कुनै पनि बच्चाको जीवनमा असर नपर्ने सम्भावना छैन ।

संयुक्त राष्ट्र संघीय यस निकायले सरकार तथा अन्य सम्बन्धित निकायहरूलाई बालबालिकाका लागि जलवायु अनुकूलन र लचीलापनमा बढी लगानी गर्न, सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जनलाई कम्तीमा ४५ प्रतिशतले कम गर्न, जागरूकता बढाउन, युवाहरूलाई जलवायु परिवर्तन नीति निर्माणमा संलग्न गर्न र कोभिड–१९ को प्रभाव कम भएको सुनिश्चित गर्न आह्वान गरेको छ ।’

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार १०:४२