काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाध्य भएर आफूहरुले नेकपा (एमाले)को पुनर्गठन गरिएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत नेपालले बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरिएको बताएका छन् ।
एकताका सबै ढोका बन्द गर्दै आफूहरुकै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिस्ट पार्टीलाई कब्जा, बद्नाम एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर यो कदम चालिएको उनको भनाइ छ । नेपाली जनताले कम्युनिस्ट पार्टी र आन्दोलनमार्फत चाहेको संस्कृति एवं समृद्धिको लागि सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेको समेत उनले बताए ।
नेपालले भनेका छन्, ‘हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसद्का सांसद कमरेडहरु एवं वैधानिक प्रावधान अनुसार पु¥याउनु पर्ने महिला कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ ।’
पार्टी दर्ता प्रक्रिया वैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला, सम्मेलन गरी अहिले समावेश नभएकाहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने उनले जानकारी दिएका छन् ।यसअघि, नेपाल समूहको पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको थियो । निर्वाचन आयोगले माधव नेपाल समूहले माग गरे बमोजिम नेकपा एमाले (समाजवादी) नाम नदिने भएपछि नयाँ पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखिने भएको हो ।
यसैबीच, भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि नयाँ पार्टीलाई आफ्नो साथ र समर्थनमा रहने जानकारी गराएका छन् । पूर्वप्रधानमन्त्री खनालको सचिवालयले फेसबुकमार्फत उक्त जानकारी दिएको छ । सचिवालयले भनेको छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।’
।