काठमाडौं । हालै सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा छापा मारेको छ । हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरू पनि उनीहरू लिएर हिँडेको बताइएको छ । अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडिएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेको हो ।
जलालाबाद र काबुलस्थित भारतीय वाणिज्य दूतावासमा के भइरहेको छ, त्यसको जानकारी प्राप्त भइसकेको छैन । रिपोर्टअनुसार हक्कानी नेटवर्कका झन्डै ६ हजार लडाकुले राजधानी काबुल नियन्त्रणमा लिएको जनाइएको छ । यसको नेतृत्व हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ अनस हक्कानीले गरेका छन् ।
यसैबीच, अफगानिस्तानको बदलिँदो परिस्थिति माझ भारतका विदेशमन्त्री एस जयशंकरले चरमपन्थी संगठन हक्कानी नेटवर्कको गतिविधिबारे संयुक्त राष्ट्र सुरक्षा परिषदमा मुद्दा उठाएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानमा आधारित लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदजस्ता चरमपन्थी संगठनले निर्भयतासँग प्रोत्साहित हुँदै काम गरीरहेका छन् ।’
अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबानले भारतसँग क्रुरता देखाइरहेको छ । बिहीबारमात्र तालिबानले भारतसँग व्यापार पनि बन्द गरिसकेको खबर बाहिरिएको थियो । जसकारण लाखौं डलर बराबरको सामान आयात र निर्यात रोकिएको छ । भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडकहरूको विकासमा पनि अर्बौं डलर लगानी गरिरहेको छ ।
।