काठमाडौं । सत्ताबाट बाहिरिएको एक महिनापछि ठूलो दल नेकपा एमाले विभाजन भयो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले विद्रोह गर्दै नयाँ पार्टी गठन गरे । एमाले विभाजनले कानुनी मान्यता पाउन भने बाँकी छ ।
नेकपा हुँदै एमालेमा आइपुग्दासमेत ठूलो दल रहेको एमालेलाई विभाजनको असर राम्रैसँग पर्ने देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएर ‘चोइटिएको’ दाबी गरे पनि ठूलो धक्का लागेको छ । माधव नेपालले गठन गरेको पार्टीमा ठूलो संख्या नदेखिए पनि ओलीविरुद्ध उभिएका नेताहरु उनीसँग आइसकेका छैनन् ।
माधवका पक्षमा उभिँदै आएका नेताहरु हाल पार्टीलाई एकताबद्ध बनाउने भन्दै तेस्रो धारमा उभिएका छन् । उनीहरुले आज मात्रै माधव नेपलालाई साथ नदिएका र ओली पक्षमा गइनसकेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरुले छलफल गर्दैछन् ।
वाग्मतीबाटै ओलीलाई धक्का
एमाले विभाजन भएकै दिन अर्थात् बुधबार ओलीले वाग्मती प्रदेशका मुख्यमन्त्री हटाउन बाध्य भए । मुख्यमन्त्री रहेका डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए । माधव समूहमा रहरे ओलीको चर्को आलोचना गर्दै आएकी नेतृ शाक्य मुख्यमन्त्री बनिन् ।
पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिँदा उनले मुख्यमन्त्री उपहारका रूपमा पाइन् । यद्यपि, उनको मुख्यमन्त्री पद धरमरमा नै छ । पार्टी एकताका लागि ओली र नेपाललाई आग्रह गर्दै तेस्रो धारमा उभिएकी मुख्यमन्त्री शाक्यको पदबारे अहिले नै भन्न नसकिने नेताहरु बताउँछन् । माधव नेपाललाई साथ नदिए पनि उनी ओली पक्षमा खुलेकी छैनन् ।
प्रदेश १ सरकार गुमाउँदै
पार्टीको विवादले केन्द्र, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सरकार गुमाएको एमालेले पार्टी विभाजनपछि अब प्रदेश १ मा पनि सरकार गुमाउने पक्का भएको छ । प्रदेश १ मा माधव नेपालले गठन नगरेको नयाँ पार्टीबाट मुख्यमन्त्री बन्ने चर्चा हुन थालेको छ । यद्यपि, एमालेमा माधव समूहमा रहेका नेता भीम आचार्य अझै ‘क्लियर’ भएका छैनन् ।
तेस्रो धारमा उभिएका नेता आचार्य ओलीतर्फ लागे माधव नेपालको नयाँ पार्टीबाट नेता राजेन्द्र राई मुख्यमन्त्री हुने चर्चा पनि हुन थालेको छ । एमालेमा माधव नेपालसँग प्रदेश १ मा सभामुखसहित २० जना सांसद् थिए । तर, भीम आचार्य ओलीतिर लागेमा माधवसँग सभामुखबाहेक १८ सांसद् रहनेछन् ।
प्रदेशमा सांसद्को कुल संख्या ९३ थियो । नेकपा माओवादीका एक सांसद् एमाले प्रवेश गर्दा कारबाहीमा परेपछि हाल प्रदेशमा ९२ सांसद् छन् । उक्त प्रदेशमा बहुमतका लागि ४७ सांसद चाहिन्छ । गठनबन्धमा कांग्रेस २१, माओवादी १५, जसपा ३ गरी ३९ सांसद् छन् ।
लिम्बुवान मुक्ति मोर्चाका एक सांसद्ले पनि गठबन्धनलाई साथ दिने बताएपछि एमाले र माधव नेपालको पार्टीका बाहेक ४० सांसद् छन् । त्यसैले माधव पक्षमा ७ जनामात्रै रहे पनि सरकार गठन हुनेछ । तर, एमालेमा रहँदा माधव पक्षमा रहेका भीम आचार्यबाहेक अन्य सबै सांसदको साथ नयाँ पार्टीलाई रहेको एक सांसद्को दाबी छ । अब प्रदेश १ मा एमालेसँग ३१ सांसद् हुने छन् ।
प्रदेश २ मा नेपालको पार्टी नै बलियो
प्रदेश २ मा एमालेलाई ठूलो धक्का हुने निश्चित छ । अन्य प्रदेशमा आफ्नै पार्टीको सरकार भएका बेला पनि प्रदेश २ मा एमाले कमजोर नै थियो । प्रदेश २ मा एमालेका २१ सांसद् थिए । जसमध्ये पार्टीमा विवाद भएपछि १३ सांसद् माधव पक्षमा थिए । ओली पक्षलाई हटाएर नेपाल पक्षका शत्रुघन महतो दलको नेता बनेका थिए ।
हाल उक्त संख्या आफूहरुसँगै कायम रहेको उनको दाबी छ । अब बन्ने नयाँ पार्टीमा १३ जनाको संख्या नघट्ने बरु बढ्ने उनको जिकिर छ । नयाँ पार्टी बनेपछि सरकारमा सामेल हुने उनले बताए । प्रदेश २ मा जसपाको नेतृत्त्वमा सरकार छ । १३ सांसद नयाँ पार्टीमा गए एमालेसँग ६ सांसद् मात्रै रहने छन् ।
प्रदेश २ मा किन कमजोर भयो एमाले ?
अब नयाँ पार्टी बनेर सत्तामा जाने भएपछि स्वभाविक रुपमा संख्या बढ्ने देखिन्छ । तत्कालीन एमालेको महाधिवेशनमा माधव समूहबाट केन्द्रीय कमिटीमा बहुमत सदस्य विजयी भएका थिए । त्यस्तै पार्टीभित्रको अन्तरसंघर्षमा प्रदेश २ का जिल्ला अध्यक्षमा पनि माधव समूहको नै वर्चस्व थियो ।
त्यहाँ ओली पक्ष कमजोर हुनुमा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता सत्यनारायण मण्डलले संगठनमा ध्यान दिन नसकेको आरोप ओली पक्षकै नेताहरुको छ । यता, गण्डकी र लुम्बिनीमा भने ओली पक्ष बलियो छ । यद्यपि, एमाले विवादका कारण एमालेले दुवै प्रदेशको सरकार गुमाउनु पर्यो । पार्टीका स्थायी कमिटी सदस्यहरुले नै माधव नेपाललाई साथ नदिएपछि केही सांसदहरु अझै कता जाने निर्णय गरिसकेका छैनन् ।
जारी पछिल्लो अध्यादेश अनुसार स्थानीय र प्रदेशका जनप्रतिनिधिलाई कुन पार्टी रोज्ने त्यसका लागि २१ दिनको समयसीमा दिइएको छ । उता, कर्णाली प्रदेशमा पार्टी विवादले एमालेको सरकार बन्न सकेन । कर्णालीमा माधव समूहका ४ सांसद्ले फ्लोरक्रस गर्दा नेकपा माओवादीको सरकार बनेको थियो । कर्णालीमा फ्लोरक्रस गरेका प्रकाश ज्वाला भने माधव नेपालको नयाँ पार्टीको केन्द्रीय सदस्य छन् ।
सुदूरपश्चिममा भीम रावलको भर, बाँडिने संकेत
सुदूरपश्चिम प्रदेशमा एमालेबाट २४ सांसद् निर्वाचित भएका थिए । पार्टी विवाद उत्कर्षमा पुग्दा माधव समूहमा १७ सांसद् उभिएका थिए । एमालेको निर्णयलाई चुनौती दिँदै माधव समूहका सांसद् सरकारमा गएका थिए । हाल पार्टी विभाजन हुँदा उनीहरु कुनै निर्णयमा पुगिसकेका छैनन् । ओली पक्षमा ७ जना उभिएका थिए ।
सुदूरपश्चिममा नेता भीम रावलको पकड छ । उनले सुरुमा माधव नेपाललाई साथ दिए पनि पार्टी विभाजनको संघारमा पुगेपछि भने तटस्थ बसेका छन् । पार्टी एकताको पक्षका भन्दै कतै नखुल्दा कता लाग्ने भन्नेमा सांसद्हरु अलमलमा परेका छन् । तर, १७ मध्ये आधा सांसद् रावल जता गयो त्यतै जाने सम्भावना प्रवल रहेको एक सांसदको जिकिर छ ।
‘को कता भन्ने निर्णय त भएको छैन तर हालसम्म १७ जना एकैतिर लाग्ने भन्ने कुरा हो । अर्को हप्तासम्म टुंगिएला । नेता भीम रावल बिचमा उभिँदा निर्णय भएको छैन । सबै एकै ठाउँमा उभिने भनिए पनि विभाजन हुने देखियो । करिब आधा सांसदहरु भीम रावल जता जाने त्यतै र अरु नयाँ पार्टीमा जाने देखिएको छ,’ ती सांसदले भने ।
हालसम्म प्रदेशमा रहेको अवस्था र सांसदहरुलाई दिइएको समयसीमाले केही परिवर्तन हुने संकेत देखिन्छ । माधव नेपालको विद्रोहले एमालेमा परकम्प गएको छ । र, यसको असर आगामी दिनमा प्रष्ट देखिने स्वयं एमाले नेताहरु नै बताउँछन् ।
।