सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

माधव नेपालको पार्टी ‘नेकपा एकीकृत समाजवादी’

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष नेतृत्वको पार्टीको नाम फेरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले (समाजवादी) राखिएकोमा अब नेकपा एकिकृत समाजवादी पार्टी हुने भएको छ । यसअघि गत बुधबार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्दै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।

आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए । यसैगरी ९५ सदस्सीय केन्द्रीय सदस्य राखिएकोमा त्यसलाई बढाएर ११५ पुर्याइएको छ । दल दर्तापश्चात हुने राष्ट्रिय भेलाबाट केन्द्रीय सदस्यको संख्या अझै बढ्न सक्ने नेता नागेन्द्र चौधरीले बताए ।

विभिन्न कलष्टरहरु रहेको र त्यसअनुसार पालना गर्नुपर्ने भएकाले संख्या बढन सक्ने नेता चौधरीले बताए । शुक्रबार ११५ जना केन्द्रीय सदस्यसहितको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका बेदुराम भुसाल र राजेन्द्र पाण्डेले पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) लागि निवेदन दिएका हुन् ।

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले वरिष्ठ नेता माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । माधव नेपालले पार्टीको नाम नेकपा एमाले (समाजवादी) र ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम राख्न निवेदन दिएपछि निर्वाचन आयोगले अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै नाम परिवर्तन गर्न भनेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १५:१६