सल्यान । धानमा खैरो थोप्ले रोग देखिएपछि सल्यानका किसान चिन्तित भएका छन् । शारदा नगरपालिका–९ मा ढुसीबाट उत्पन्न हुने खैरो थोप्ले रोगको प्रकोप देखिएको हो । १५० रोपनीमा लगाएको धानमा समस्या आएको किसान धनबहादुर कुँवरले बताए । ४० घरधुरीले लगाएको करिब ३५० रोपनीमध्ये १५० रोपनीभन्दा बढी धानमा रोग देखिएको उनको भनाइ छ ।
किसानले धानमा समस्या आएको जानकारी गराएपछि प्राविधिकसहितको टोलीले अनुगमन गरेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । धानको रोगसम्बन्धी गुनासो लिएर किसान कार्यालयमै आएपिछि रोगको पहिचान गरिएको ब्लक विकास अधिकृत सन्दिपकुमार अधिकारीले बताए । राधा–४, खुमल–४, मन्सुलीलगायत जातको धान खेती गरिने र धेरै वर्षदेखि बिउ परिवर्तन नगर्दा उक्त रोगको समस्या देखिएको हुन सक्ने प्राविधिक सौभाग्य जंग बस्नेतले बताए ।
सन्तुलित मात्रामा मलखादको प्रयोग नगर्नु, वर्षे मकैबाट ढुसीका कणहरु हावाको माध्यमबाट धानमा प्रशारण भएको, ढुसी फैलनका लागि उपयुक्त वातावरण भएका कारण पनि खैरो थोल्ले रोग देखा परेको उनको भनाइ छ । रोगले धेरैमात्रामा क्षति गरिसकेकाले आकस्मिक बाली संरक्षण कार्यक्रम अन्तर्गत ४० घरधुरीलाई ढुसीनाषक विषादी सहयोग गरेको कार्यालय प्रमुख महेश आचार्यले बताए ।
।