सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

गाउँ नगर जोड्दै झोलुङ्गे पुल

‘पुल बनेपछि पहिलाको तुलनामा धेरै सहज भएको छ ।’

बाँके । नेपालगन्जको सीमा नजिकै दुई वटा झोलुङ्गे पुल । तपाईलाई झोलुङ्गे पुलमा गएर एकैछिन भए पनि त्यहाँको वातावरणको आनन्द लिन त्यहाँ जान सकिन्छ । धेरै टाढा नभएर तपाई हाम्रै नेपालगन्ज उपमहानगरपालिकको सीमा क्षेत्रमा जानुपर्ने हुन्छ । हो, झोलुङ्गे पुल हेर्न वा त्यहाँको वातावरणमा रमाउनका लागि डुडुवा गाउँपालिका वडा नम्बर ५ मा जान सकिन्छ ।

त्यहाँ जान नेपालगन्ज उपमहानगरपालिका–१९ भएर पनि एक वटा झोलुङ्गे पुलमा जान सकिन्छ भने अर्को नेपालगन्ज उपमहानगरपालिका–२१ भएर झुलुङ्गे पुल पुलमा जान सकिन्छ । डुडुवा गाउँपालिका वडा नं. ५ को लडियाघाट र यसै वडाको लिवाङ्गी टोलमा अवस्थीत झुलुङ्गे पुलले यहाँका बासीन्दालाई नेपालगन्जसँग नजिक बनाएको छ । झोलुङ्गे पुल भएर दैनिक सयौं मानिसहरु नेपालगन्ज आउने जाने गर्ने गर्दछन् ।

झोलुङ्गे पुल वरिपारीको वातावरण एकैदमै रमणीय देख्न पाइन्छ । हो तपाईलाई घुम्न मन लागेको छ भने यहाँ जान सक्नु हुन्छ । यी दुबै झुलुङ्गे पुल डुडुवा खोलामा निर्माण भएका छन् । यी झुलुङ्गे पुलको इतिहास भने यस्तो छ, कुनै समय डुडुवाका मानिसलाई बजार जान गाह्रो हुन्थ्यो । कि त कम्दीको मिलन चोक भएर पुरैनी हुँदै नेपालगन्ज आउनुपथ्र्यो अर्को राँझा भएर नेपालगन्ज आउनुपर्ने बाध्यता थियो ।

कि त वर्षा सकिएपछि डुडुवा खोलामा पानी कम भएको बेलामात्रै नेपालगन्जका लागि छोटो यात्रा गर्ने अवसर मिल्थ्यो । पछि यहाँ पुलको माग बढेपछि तत्कालिन जिल्ला विकास समिति बाँकेमार्फत यो खोलामा पुल निर्माण गरिएको हो । डुडुवा खोलामा पुल बनेपछि यहाँका स्थानीयलाई वर्षायाममा पनि नेपालगन्ज पुग्न सजिलो भएको डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष प्रशुराम बुढाथोकी बताउँछन् ।

लिवाङ्गी टोलमा निर्माण गरिएको १०० मिटर लामो झुलुङ्गे पुल जिल्ला बिकास समितिमार्फत करिब ३८ लाख र लडियाघाटमा पनि रहेको करिब १०० मिटर लामो झोलुङ्गे पुल पनि तत्कालिन जिल्ला विकास समितिमार्फत नै ३५ लाख लागतमा निर्माण भएको वडाध्यक्ष बुढाथोकीले बताए । पुल निर्माण भएपछि अहिले नेपालगन्जबाट छोटो दुरीमै कम्दी पुग्न सकिने पनि वडाध्यक्ष बुढाथोकीले बताए ।

डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकालाई डुडुवा खोलाको पुलले जोडेको छ । डुडुवा खोलाका कारण गाउँपालिका र उपमहानगरपालिकाको सम्बन्ध भौतिक र भौगोलिकरुपमा टाढा छ । जसलाई झुलुङ्गे पुलले निकट बनाएको छ । झुलुङ्गे पुल नहुँदा जोखिमपूर्ण र घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता थियो । यी बाध्यतालाई हटाउन र गाँउ नगरबीचको अटुट सम्बन्ध स्थापना गर्न पुलले महत्वपूर्ण भूमिका खेलेको छ ।

पुलकै कारण कम्दी क्षेत्रका नागरिकहरुलाई कम समयमै नेपालगन्ज आउजाउ गर्न सहज भएको छ । पुलले यात्राको दूरी मात्रै छोट्याएको छैन । गाउँ र उपमहानगरका नागरिकबीच निकट सम्बन्ध स्थापित पनि गरेको छ । ‘भौतिकरुपमा नजिकै भएको जिल्ला सदरमुकाम नेपालगन्ज डुडुवा खोलामा पुल नहुँदा निकै लामो बाटो भएर पुग्नुपर्दथ्यो । झोलुङ्गे पुलले अहिले यात्रा छोटो बनाएको छ,’ वडाध्यक्ष बुढाथोकीले भने ।

पहिले झण्डै दुई घण्टाको यात्रा छोट्याएर पुल बनेपछि ३० मिनेटमै नेपालगन्ज आवतजावत गर्न सकिने पनि वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । पुलका कारण डुडुवा गाउँपालिकाको कम्दी क्षेत्रका नागरिकलाई अध्ययन, रोजगारी तथा खरिद बिक्रीका लागि जिल्लाको सदरमुकाम नेपालगन्ज आउतजावत गर्न सहज भएको छ । ‘पुल बनेपछि पहिलाको तुलनामा धेरै सहज भएको छ,’ वडाध्यक्ष बुढाथोकीले भने ।

पुलले दूरी मात्रै छोट्टाएको छैन, यसले कृषिउपजको सहज बजारीकरण, ढुवानी खर्चको बचत तथा अध्ययन र रोजगारीका लागि निकै सहज भएको छ । यस्तै यही वडाको दुर्गम तथा लुकेको गाउँ खजुरा गाउँ पुग्नका लागि लुदरी खोलामा ट्रष्ट पुल निर्माण गरिएको छ । ७० मिटर लामो यो पुल तत्कालिन जिल्ला विकास समितिमार्फत निर्माण गरिएको हो । लुदरी खोलामा ट्रष्ट पुल निर्माणपछि खजुराबासीलाई आवतजावतमा सहज भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १०:३७