सूचनाको शक्ति - The Power Of Information

        

दल विभाजनसम्बन्धी संशोधित नियमावली राजपत्रमा प्रकाशित

काठमाडौं । यहि बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ का आधारमा राजनीतिक दलसम्बन्धी नियमावली संशोधन भएको छ ।

संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशनसमेत भएको छ । राजपत्रमा नियमावली प्रकाशनमा आएपछि दर्ताका लागि निवेदन दिएका नेकपा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दल दर्ताको बाटो खुलेको छ ।

नियमावली संशोधन नभएका कारण नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढ्न सकेको थिएन । आयोगको बिहीबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली संशोधनको निर्णय गरेको थियो । आयोगको निर्णय कानुन मन्त्रालय हुँदै राजपत्रमा प्रकाशित भएको हो ।

यसअघि नै माधवकुमार नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए । संशोधित नियमावली राजपत्रमा प्रकाशन नभएकाले उनीहरूले दिएको निवदेन विचाराधीन रहेको थियो ।

राजपत्रमा नियमावली प्रकाशन भएसँगै उनीहरू दुवै पक्षले दल दर्ताका लागि दिएको निवेदनमा प्रक्रिया अघि बढ्ने भएको छ ।

संशोधित नियमावलीअनुसार महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दल भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाको बखतका केन्द्रीय समितिको २० प्रतिशत वा सोभन्दा बढी सदस्य वा त्यस्तो दलको सङ्घीय संसद्को संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी सदस्यले एकैपटक भन्ने शब्द राखिएको छ ।

जनप्रतिनिधिमाथि कारवाही नहुनेदेखि अध्यादेशको ब्यवस्थासमेत संशोधन गरिएको छ । आजैदेखि उनीहरुको निवेदनमा प्रक्रिया अघि बढाउने निर्वाचन आयोगको तयारी छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ०८:३७