सूचनाको शक्ति - The Power Of Information

        

जनैपूर्णिमा र गाईजात्रामा भीडभाड नगर्न आग्रह

काठमाडौं । कोरोना भाइरस संक्रमित बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रालगायत सांकेतिक रूपमा मनाउन र भीडभाड नगर्न आग्रह गरेका छन्।

बिहीवार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण तथा जोखिमको दर उच्च भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत तरिकाले सांकेतिक रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेका थिए।

प्रजिअले कोभिड–१९को संक्रमण तथा जोखिम दर उच्च रहेको जनाउँदै आगामी आइतबार र सोमबारका दिन परेको जनैपूर्णिमा र गाइजात्रा पर्वमा भीडभाड नगर्न अनुरोध गरेका थिए।

‘साउन २८ गतेदेखि भदौ ८ गतेसम्मका लागि जारी गरेको निषेध आदेश कायमै रहेकोले पनि सांकेतिक तवरले मात्रै चाडपर्व मनाउन अनुरोध गरिएको छ,’ काठमाडौंका प्रजिअ पराजुलीले भने।

गत साता कोरोना भाइरस संक्रमणको दर बढेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौं ५ गतेसम्म लम्बाइने निर्णय भएको थियो।

सो अवधिसम्म लागु हुने गरि अत्यावश्यक सेवा बाहेकका निजी तथा सार्वजनिक सवारी साधनहरू बेलुका ८ बजेपछि गन्तव्यमा पुगिसक्नुपर्नेसहित निषेधाज्ञा लम्बाइएको थियो।

त्यस्तै, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, नाचघर क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय र रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरूको भिडभाड हुने कार्यक्रम सञ्चालन गर्न/गराउन पाइने छैन।

चोक/खुला स्थानमा मानिसहरूको भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव र भोज भतेरलगायत गर्न गराउन रोक लगाइएको छ।

पुजारीबाट हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक तथा साँस्कृतिक गतिविधिहरू सञ्चालन गर्न पाइने छैन। शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन पाउने छैन। स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।

सर्वसाधारणको आवतजावतको हकमा घरबाट बाहिर निस्किँदा दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको भौतिक कायम राख्ने, अनिवार्य रूपले मास्कको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ।

सफा टेम्पो तथा निलो माइक्रोले पछाडी तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा एक जना गरी कुल ९ जना यात्रुभन्दा बढी राख्न पाइनेछैन।

सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउने पर्नेछ। उपत्यकाभित्र सञ्चालन हुने निजी सवारी साधनका हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रूपमा पालना गरी सञ्चालन गर्नुपर्नेछ।

लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी सञ्चालन गर्न पाइनेछ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ०८:२४