सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् बैठक

माधवलाई सत्ताकाे भाग, रेल्वे कम्पनीकाे महाप्रवन्धक पनि पाेल्टामा

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा सप्तरीका निरन्जन झालाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेता झालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेको थियो ।

तर उनले स्पष्टीकरण जवाफ नदिएर राजीनामा दिएका थिए। शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ।

सरकारले बिहीबार नै बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको थियो।

एमालेबाट विद्राेह गरी देउवा सरकार निर्माणमा सहयाेग गरेकाे माधव समूहलाई राजनीतिक नियुक्तिमा ठूलाे भाग दिने सहमति सत्ता गठबन्धनमा बनेकाे थियाे ।

माधव नेपालले नयाँ दल (नेकपा एमाले समाजवादी) दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन पेश गरेका छन्।

उक्त दलले आयाेगबाट मान्यता पाएपछि मात्रै मन्त्रिपरिषद् बिस्तार गर्ने सहमति पनि गठबन्धनले गरेकाे छ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार ०८:०७