सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

जंगलभित्रको अनकन्टार बस्ती ‘खजुरा’, जहाँ ‘भगवान’ पुकार्दै बस्छन् स्थानीय

‘पहिले गुमनाम रहेको खजुराको यहाँको विकासका लागि स्थानीय सरकारको चासो पनि बढेको छ ।’

बाँके । नेपालगन्जदेखि पूर्वमा पर्ने डुडुवा गाउँपालिकाको कम्दी (मिलन) चोकदेखि उत्तरतर्फ लागेपछि जंगलको बाटो आइपुग्छ । झण्डै ५ किलोमिटर घना जंगलभित्र करिब ४५ मिनेटको उत्तरपूर्वतर्फ मोटरसाइकल यात्रा गरेपछि डुडुवा गाउँपालिका–५ को अनकन्टार बस्ती ‘खजुरा’ पुगिन्छ ।

सबैखाले सेवा सुविधाबाट ठगिएको अनकन्टार बस्ती ‘खजुरा’ राप्ती नदीको किनारमा रहेको छ । त्यहाँ पुग्न रामो सडक यातायात छैन । स्वास्थ्य, शिक्षा र सञ्चारजस्ता आधारभूत आवश्यकताभन्दा निकै पर रहेको गाउँमा पुग्नका लागि बर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्मे बाटो छिचोल्नुपर्छ ।

डुडुवा गाउँपालिकाको लुकेको गाउँ हो खजुरा । खजुराको नाम सुन्दा लाग्न सक्छ, खजुरा गाउँपालिकामा खजुरा भन्ने गाउँ छ । डुडुवामा कसरी ? तर यो सत्य हो । डुडुवा गाउँपालिका–५ को बाभनपूर्वा सामुदायीक वनभित्रको अनकन्टार जंगलभित्र अनकन्टार खजुरा भन्ने गाउँ छ ।

डुडुवा गाउँपालिकाबाहेक कमै व्यक्तिलाई डुडुवामा पनि खजुरा गाउँ छ भन्ने थाहा होला । यो गाउँ गाउँपालिकाको वडा नं ४ र ५ को सीमामा रहेको मिलन चोकदेखि पूर्वी उत्तर सामुदायिक वनको बीचमा यो गाउँ रहेको छ । यो गाउँ पुग्न मिलनचोकदेखि करिब ६ किलोमिटर जंगल भएर जानुपर्छ ।

३५ घरधुरीको बसोबास रहेको खजुराका नागरिकहरु राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित छन् । गाउँमा विद्यालय छैन, त्यहाँका बालबालिकालाई पढ्नका लागि ७ किलोमिटरको यात्रा तय गर्नुपर्ने हुन्छ । त्यहाँ कुनै स्वास्थ्य केन्द्र छैन । औषधोपचारका लागि पनि ७ किलोमिटरकै दुरी तय गर्नुपर्छ ।

पूर्वतिरबाट बग्ने राप्ती नदीमा पानीको बहाव बर्षायाममा उच्च भएका बेला ‘खजुरा’ त्रासमा बाँचेको हुन्छ । विपदका बेला ‘भगवान’ पुकार्दै बस्छन् खजुराका स्थानीय । उत्तर–पूर्वतिरबाट राप्ती नदी कटानले साँघुरिँदै गएको ‘खजुरा’को उत्तरतिरको जंगलभित्र खजुरा भवानीको मन्दीर छ । विपदका बेला यीनै ‘खजुरा भवानी’लाई पुकारेर बस्छन् खजुराबासी ।

विजुली बत्ती नहुँदा अन्धकारसँगै अभावै अभावमा पिल्सिएको ‘खजुरा’लाई यसै आर्थिक बर्षभित्र उज्यालो बनाइँदैछ । विद्युत विस्तारको काम सकिएको छ । केही स्थानमा ट्रान्समिटर राख्ने कार्य बाँकी छ । अबको केही दिनभित्रै ट्रान्समिटर राख्ने कार्य सकिएसँगै ‘खजुरा’ उज्यालो बन्नेछ ।

‘खजुरा’मा एउटा ठूलो र दुई वटा साना गरी तीन वटा बाख्रा फार्मसमेत रहेका छन् । ठूलो बाख्रा फार्ममा अहिले १०० वटा उन्नत जानका बोयर बाख्रा छन् । विजुली बत्ती नहुँदा रातीको समयमा बाख्रा फार्ममा आउजाउ गर्न, उनीहरुका लागि घाँस काट्न समस्या हुने गरेको बाख्रा फार्मका सञ्चालकहरु बताउँछन् ।

डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष प्रशुराम बुढाथोकीले विद्युत लाइन विस्तार भइसकेको र अब ट्रान्समिटर राखेर मुख्य लाइनसँग जोड्न मात्रै बाँकी रहेको बताए । उनले भने, ‘पहिले खजुरा गाउँमा पुग्ने बाटोघाटोसम्म थिएन । बर्षात्मा खजुराबासीलाई मिलन चोकसम्म पुग्न पनि समस्या थियो । अहिले त्यस्तो छैन ।’

स्थानीय सरकार आएपछि वडापालिकाले लुदरी खोलामा ट्रस पुल निर्माण गरेपछि खजुराबाट कम्दीसम्मको आवातजावतमा सहज भएको खजुराका स्थानीयबासी चन्द्रबहादुर हमालले बताए । उनले भने, ‘पहिले गुमनाम रहेको खजुराको यहाँको विकासका लागि स्थानीय सरकारको चासो पनि बढेको छ ।’

कम्दी–खजुरा जोड्ने सडकको स्तरोन्नतीसँगै गाउँमै विद्यालय, स्वास्थ्य केन्द्र स्थापनाका साथै भरपर्दो सञ्चार सेवा आवश्यक रहेको हमालले बताए । उनले स्थानीय सरकारले आधारभूत क्षेत्रको विकासका लागि पहल गरिदिए खजुराबासीका लागि बरदान सावित हुने पनि हमालले बताए ।

यो गाउँ शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको अभावमा अघि बढिरहेको छ । हालसम्म गाउँमा बिजुली समेत पुग्न सकेको छैन । बषौंदेखि जंगलमा अवस्थित यो गाउँमा हालसम्म बिजुली पनि पुग्न नसकेको स्थानीय बताउँछन् । सरकारले प्रदान गर्दै आएको करिब सबै सेवा सुविधाबाट यो गाउँ बञ्चितजस्तो छ ।

यहाँका बालबालिकालाई विद्यालय जान परे त्यही जंगलको बाटो भएर कम्दी आउनुपर्छ । वर्षा नभएकै बेला गाउँमा पुग्न समस्या हुन्छ, वर्षायाममा निकै कष्ठकर यात्रा गर्नुपर्छ । तर स्थानीय जनप्रतिनिधि आइसकेपछि अहिले यो गाउँ स्थानीय सरकारको नजरमा परेकोजस्तो देखिन्छ । यो गाउँ पुग्न तर्नुपर्ने खोलामा अहिले पुल बनेको छ ।

पुल नहुँदा वर्षामा गाउँ पुग्न असम्भव नै हुन्थ्यो । तर पछिल्लो समय पुल बनेपछि सहज बनेको गाउँका स्थानीय चन्द्रबहादुर हमालले बताए । उनका अनुसार पुल नहुँदा खानेकुरा लगायत बस्तुभाउ किन्न नजिकको बजारका रुपमा रहेको मिलन चोक र राँझा एयरपोर्ट बजार पुग्न सकिने अवस्था हुँदैन्थ्यो, स्थानीय हमाल बताउँछन् ।

तर पुल बनेपछि वर्षामा पनि बस्तुभाउका लागि बजार पुग्न पहिलेको भन्दा सजिलो भएको छ । पछिल्लो समयम गाउँमा बिजुलीको सुबिधा पुर्याउन डुडुवाले पोल बिस्तार गरेको छ । गाउँपालिकाको १० लाख बजेटमा यो गाउँका लागि भनेर पोल गाड्ने काम भएको वडाध्यक्ष प्रशुराम बुढाथोकीले बताए ।

उनले अहिले गाउँसम्म नै पोल पुर्याइएको र तार तान्ने काम पनि सम्पन्न भएको जानकारी दिए । उनका अनुसार अब विद्युत प्राधिकरण त्यहाँ विद्युतको सप्लाई पुर्याउन बाँकी छ । यो कार्य पनि भएपछि यो गाउँका स्थानीयले विजुली बाल्ने सपना पुरा गर्न पाउने छन् । अहिले पनि यहाँ सोलारको प्रयोग गरिन्छ ।

 

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार ११:१५