काठमाडौं । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजी कार्य जारी छ ।
‘श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको डेथ बडी फेला परिसकेको छ, अर्को एक जनाको खोजी भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले भने ।
पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए ।
श्यामबहादुर घाइते छन् । उनलाई उद्धार गरी उपचार गर्न सुरुमा नुवाकोटको त्रिशूली अस्पताल पठाइएको र पछि त्यहाँबाट काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
घटना आज बिहान करिब साढे ३ बजेतिरको हो । ‘ठूलो आवाज आएपछि छिमेकी हेर्न जाँदा पहिरोले घर पुरिएको देखिएको, त्यहीँ नजिकै श्यामबहादुर फेला परेका थिए,’ स्थानीयको भनाइ उद्धृत गर्दै डिएसपी पाण्डेले भने ।
श्यामबहादुरलाई उपचार गर्न पठाएपछि स्थानीयको सहयोगमा सेना र प्रहरीको टोली अन्यको उद्धारमा खटिएका थिए ।घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणतर्फ ठूलोभोर्ले र धुसेनी गाउँको बिचमा पर्दछ ।
।