सूचनाको शक्ति - The Power Of Information

        

समाचार

सुरु भयो मुस्लिम समुदायको पर्व ‘मोहर्रम’

फाइल तस्वीर

बाँके । स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्दै मुस्लिम समुदायको मोहर्रम पर्व विविध कार्यक्रमका साथ सुरु भएको छ । इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै मनाइने मोहर्रम पर्वलाई १० दिनसम्म विविध कार्यक्रम गरी मनाइँदै आए पनि कोभिड महामारीलाई दृष्टिगत गरेर यस वर्ष पाँच दिनमात्र मनाइने केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिले जनाएको छ ।

महामारीका कारण यस वर्ष विगतभन्दा फरक तरिकाले मोहर्रम मनाइने जनाउँदै केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष फिरोज अहमद हलवाईले यस वर्ष सीमित मानिसका साथ राति १२ बजेदेखि ३ बजेसम्म मात्र कार्यक्रम राखिएको बताए । उनले यस वर्ष महिला, बालबालिका तथा वृद्धवृद्धालाई जुलुसमा जान रोक लगाइएको र जुलुस तथा कार्यक्रममा सहभागी हुने युवा तथा अन्यलाई मास्क अनिवार्य गरिएको बताए ।

इराकको कर्बलामा सहिद भएका पैगम्बर हजरत मोहम्मदका नाति हजरत इमाम हुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीले हरेक वर्ष १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् । उनीहरूकै शहादतको सम्झनामा मोहर्रम महिनाको १ देखि १० तारिखसम्म विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा हुसैन र हसनको सम्झनामा ताजिया राखिने परम्परा छ ।

कोभिडका कारण राति १२ देखि ३ बजेसम्म गरिने मोहर्रम जुलुस र कार्यक्रमको सुरक्षा र स्वास्थ्य मापदण्ड पालनाका लागि कडा व्यवस्था मिलाइएको जनाएको छ । मोहर्रमको अन्तिम दिन भोलि शुक्रबार दिउँसोपछि स्थानीय फुलटेक्रामा रहेको कर्बलामा ताजिया विसर्जन गरेर सो चाड सम्पन्न गरिनेछ । नेपालगन्जका मुस्लिमले शुक्रबार सार्वजनिक बिदाको माग पनि सरकारसँग गरेका छन् । स्थानीय मुस्लिम अगुवा अब्दुल हमिद सिद्दिकी लगायतले सरकारले मोहर्रमको १० तारिखमा बिदा दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार ०८:२६