सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

अन्ततः फुट्यो एमाले, नेपाल पक्षका स्थायी कमिटी सदस्य ओलितिरै

काठमाडौं । नेकपा एमाले फुटेको छ । एमाले फुटेर नयाँ पार्टी नेकपा एमाले (समाजवादी) राख्ने निर्णयसहित माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोग जाँदैछन् । यसअघि नेता नेपालसँगै रहेका स्थायी कमिटी सदस्यहरु बेदुराम भुसाल र मुकुन्द न्यौपानेले मात्रै साथ दिएका छन् भने बाँकी नेताहरुले नेपाललाई साथ दिएनन् ।

भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतले उनलाई साथ दिएनन् । एमाले विभाजन भएर नेकपा माले गठन भएको २४ वर्षपछि एमाले फेरि फूटेको हो । २०५३ सालमा भएको महाकाली सन्धिलाई लिएर २०५४ सालमा एमाले विभाजन भएको थियो ।

सहाना प्रधान, वामदेव गौतम, सीपी मैनाली लगायतले माले गठन गरेका थिए । २०५६ सालको प्रतिनिधि सभामा देशभर लज्जास्पद पराजय व्यहोरेपछि दुई पार्टीबीच फेरि एकता भएको थियो । गौतम, प्रधान लगायत ठूलो हिस्सा एमालेमा फर्के पनि सीपी मैनालीले भने माले पुनर्गठन गरेका थिए ।

२०५४ सालमा भएको विभाजनको असर नबिर्सँदै फेरि एमाले विभाजन भएको छ । २०५४ सालमा विभाजनको कारक महाकाली सन्धि देखिए पनि यसपटक एमाले विभाजनको खास कारण देखिएको छैन । माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगामी कदम भन्दै आइरहेको थियो ।

२०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकता भंग हुनुपूर्व नै माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरूले ओलीको राजीनामा माग गरेका थिए । यसबीचमा पार्टी एकताका लागि प्रयास भएपनि त्यसले सार्थकता पाउन सकेन । दुवै पक्षले कार्यदल गठन गरेर १० बुँदे सहमति गरेपनि त्यसले पार्टी जोगाउन सकेन ।

अन्तिम कोशिश गर्न भन्दै उपमहासचिव घनश्याम भुसालले हिजो साँझ अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी कायम गर्नुपर्ने, समान अधिकारसहितको दुई अध्यक्ष राख्नुपर्ने तथा फागुन २८ पछिका सबै निर्णय खारेज गर्नुपर्ने शर्त माधव नेपालले राखेका थिए ।

दुवै अध्यक्षको हस्ताक्षर मात्र आधिकारिक हुने लगायत माधव नेपालका शर्त ओलीले अस्वीकार गरेका थिए । पार्टी विभाजनका लागि खुकुलो प्रावधानसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल गठन गरेर निर्वाचन आयोग जाने गयारी गरेसँगै एमाले फुटेको हो ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १६:३३