सूचनाको शक्ति - The Power Of Information

        

बाँके राष्ट्रिय निकुञ्ज

राजमार्गमा वन्यजन्तु जोगाउनै मुस्किल

सडक दुर्घटनामा मारिएको बाँदर लैजाँदै बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी ।

बाँके । बाँके राष्ट्रिय निकुञ्जभित्रका सडक वन्यजन्तुका लागि खतरा बनेका छन् । तीव्र गतिमा चलाइने सवारीसाधनका कारण राजमार्गमा वन्यजन्तु मारिने क्रम बढेको हो । निकुञ्जअन्तर्गत पूर्व–पश्चिम राजमार्ग र कोहलपुर–सुर्खेत (रत्न) राजमार्गमा सवारीसाधनको ठक्करबाट वन्यजन्तु मारिएका छन् ।

गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ४३ वन्यजन्तु सवारीसाधनको ठक्करबाट र २५ वटा अन्य कारणले मारिएका निकुञ्ज प्रशासनले जनाएको छ । ‘बर्सेनि बढ्दो यो संख्याले निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तुका लागि जोखिम बनिरहेको देखिन्छ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले भने, ‘तीव्र गतिमा गुड्ने यातायातका साधनले सडक वारपार गरिरहेका वन्यजन्तुलाई ठक्कर दिने गर्छन् ।’

यसरी सडक दुर्घटनाकै कारण मर्ने जनावरहरूमा चित्तल, बँदेल र बाँदर प्रजातिका वन्यजन्तु बढी रहेको उनको भनाइ छ । राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरबाहीले वन्यजन्तु जोगाउन मुस्किल परेको उनले बताए । पूर्व–पश्चिम राजमार्गको ७२ किलोमिटर र रत्न राजमार्गको ३२ किलोमिटर खण्ड बाँके निकुञ्जभित्र पर्छ ।

निकुञ्जको तथ्यांकअनुसार आव २०७१/०७२ मा सडक दुर्घटनामा परी १६ वन्यजन्तु मारिएका थिए भने कुकुरको टोकाइ र अन्य कारणबाट ८ वन्यजन्तु मरेका थिए । यसैगरी, आव २०७२/०७३ मा सडक दुर्घटनाबाट ४३, कुकुरको टोकाइबाट ३ र अन्य कारणले ४ वन्यजन्तु मरेका थिए । आव २०७३/०७४ मा सडक दुर्घटनामा परी ६१ र अन्य कारणले १५ वन्यजन्तु मारिएका निकुञ्जको भनाइ छ ।

यातायातका साधनको ठक्करले मृत्यु हुने वन्यजन्तुको संख्या हरेक वर्ष बढ्दै गएको छ । आव २०७४/०७५ मा ७२ वन्यजन्तु सडक दुर्घटनामा परी मारिएका थिए । सोही आवमा कुकुरको टोकाइबाट चार र अन्य कारणले ६ वन्यजन्तु मारिए । सहायक संरक्षण अधिकृत न्यौपानेका अनुसार आव २०७५/०७६ मा सडक दुर्घटनामा ४४, कुकुरको टोकाइबाट १३ र अन्य कारणले ९ वन्यजन्तु मारिए ।

आव २०७६/०७७ मा ५४ वन्यजन्तु मारिएका थिए । सवारी साधनको ठक्करबाट वन्यजन्तु मारिने क्रम नरोकिएपछि निकुञ्जले राजमार्ग क्षेत्रमा टाइम कार्डको व्यवस्था गरेको छ । राजमार्गमा गुड्ने सवारीसाधनको गति कम गरी वन्यजन्तुलाई जोगाउन टाइम कार्डको व्यवस्था गरिएको सहायक संरक्षण अधिकृत न्यौपानेले बताए । उनका अनुसार वन्यजन्तु जोगाउन राजमार्गका विभिन्न क्षेत्रमा सचेतनामूलक होर्डिङ बोर्डसमेत राखिएको छ ।

वन्यजन्तुलाई सडक वारपारका लागि राजमार्गका विभिन्न स्थानमा आकाशे पुल (क्यानोफी ब्रिज) समेत बनाइएको छ । ‘लोखर्के, बाँदर, सर्प, प्रजातिका वन्यजन्तु सडक दुर्घटनामा नपरून् भन्ने उद्देश्यले निकुञ्जमा पर्ने राजमार्गका विभिन्न स्थानमा आकाशे पुल निर्माण गरेका हौं,’ न्यौपानेले भने, ‘सवारीसाधनको गति मापन गर्न राडार गन ल्याउने तयारी छ ।’ निकुञ्जले वन्यजन्तु जोगाउन विभिन्न प्रयासहरू गरेको दाबी गरे पनि वन्यजन्तु मर्ने क्रम भने उस्तै छ ।

रेन्जर प्रनयकुमार झाका अनुसार घटना भएको स्थलमा कारबाही पोस्टले नै गर्छ । यस आर्थिक वर्षमा ९ वटा मुद्दा दर्ता भएका छन् । २०७६/०७७ मा २० वटा मुद्दा दर्ता भएका थिए । २०७७÷०७८ साउन २० गतेसम्म ६४ वटा मुद्दा दर्ता भएका छन् । ‘कारबाहीको अवस्था भनेको कार्यालयमा सम्झाइबुझाइ गरेर १० हजार रुपैयाँसम्म जरिवाना गर्ने ब्यवस्था छ,’ रेन्जर झाले भने ।

सवारी साधनको ठक्करबाट हुने मृत्यु कमगर्न राजमार्गमा गुड्ने सवारी साधनलाई नियन्त्रित गर्न जरुरी रहेको सरक्षणकर्मी कृष्ण चौधरीले बताए । ‘वन्यजन्तुमैत्री सडकका लागि आकाशे पुल बनाउन आवश्यक छ,’ उनले भने, ‘राजमार्गमा टाइम कार्ड अझै व्यवस्थित गर्न सकेका छैनौ । एउटै टाइम कार्डले प्रभावकारी हुँदैन । निकुञ्ज क्षेत्रभित्रै टाइमकार्ड राखेर व्यवस्थापन गर्न जरुरी छ ।’

५५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बाँके निकुञ्ज बाह्रै महिना पानी बग्ने नदी र खोलाविहीन छ । वन्यजन्तुका लागि पिउन, आहाल बस्ने लगायतका लागि प्राकृतिक र कृत्रिम गरी निकुञ्जभित्र सयभन्दा बढी पानीका स्रोत छन् । तर अधिकांश खोला खहरे भएकाले वर्षापछि सुक्छन् । जसका कारण गर्मी सुरु भएसँगै वन्यजन्तु पानीको खोजीमा निकुञ्जबाहिर निस्कने गर्छन् । यसै क्रममा धेरै वन्यजन्तु विभिन्न कारणले मारिने गरेको निकुञ्जको बुझाइ छ ।

सवारीसाधनको ठक्करबाट ठूला जनावर भने मारिएका छैनन् । प्राकृतिक रूपमा यसबीचमा एक हात्ती र दुइटा बाघको मृत्यु भएको पाइएको छ । २०७८ वैशाखमा हात्ती र २०७६/०७७ मा दुई वटा बाघको मृत्यु भएको हो । निकुञ्जभित्र रहेका पानीका तीन तिहाइ स्रोत सुकिसकेको प्रमुख संरक्षण अधिकृत श्याम शाहले बताए । ‘एक चौथाइ स्रोतमा धेरथोर पानी छ । बाँकी सुकिसके । अरू सुक्ने क्रममा छन्,’ उनले भने, ‘पानीका कारणले पनि हुन सक्छ, गर्मीसँगै निकुञ्जमा वन्यजन्तुको चहलपहल बढी देखिन थालेको छ ।’

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १५:५८