सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

महन्थ ठाकुरको नयाँ पार्टी जसपा लोकतान्त्रिक, चुनाव चिह्न साइकल

काठमाडौं । राजनीतिक दलसम्बनधी अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोग जाने तयारीमा जुटेको छ । सत्ता राजनीतिबाट सुरु भएको लडाईंमा उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएपछि खुम्चिएर बसेको पूर्वराजपा समूह राजनीतिक दलसम्बन्धी अध्यादेशको पर्खाइमा थियो ।

मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गरेसँगै ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोग जाने तयारीमा जुटेको हो । ठाकुर पक्षले पार्टीको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिह्न साइकल राख्ने निर्णय गरेको छ ।

‘हामी निर्वाचन आयोगमा जानका लागि कोसिस गरिरहेका छौँ । तर, तयारी पूरा भइसकेको छैन,’ जसपा नेता लक्ष्मणलाल कर्णले भने, ‘पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्ने निर्णय गरेका छौँ । चुनाव चिह्न साइकल दाबी गर्ने गरी तयारी भएको छ ।’ उनले निर्वाचन आयोगमा जानका लागि तयारी गरिरहेको भन्दै तयारी पूरा भए आजै निवेदन दर्ता गर्ने तयारी रहेको जानकारी दिए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १४:२७