सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गर्दै माधव नेपाल पक्ष

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिँदैछ । अहिले काठमाडौंस्थित अर्याल होटेलमा उनीहरू रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै निर्वाचन आयोग जाने उनीहरूको तयारी छ ।

उनीहरूले नयाँ दल दर्ता गर्ने तयारी गरेका हुन् । नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखेको छ भने चुनाव चिह्न खुल्ला किताब राख्ने निर्णय गरेको छ । हस्ताक्षर संकलन स्थलमा स्थायी कमिटी सदस्यसमेत रहेका युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य उपस्थित भएका छैनन् ।

यस्तै, विघटित कार्यदलमा रहेका कोही पनि नेता त्यहाँ छैनन् । उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ । त्यससँगै कुनै पनि दलले आफ्नो दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये जतासुकैको २० प्रतिशत पुर्याएर अर्को दल गठन गरेमा त्यसले वैधानिकता पाउनेछ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १४:१९