सूचनाको शक्ति - The Power Of Information

        

आलेख

तटबन्धले जोगायो कम्दीका बस्ती

डुडुवा खोलाले हरेक वर्ष कटान गर्दै आएको क्षेत्रमा तटबन्ध निर्माण गरेपछि बस्ती पनि सुरक्षित भएका छन् ।

बाँके । डुडुवा गाउँपालिका–५ कम्दी क्षेत्रका नागरिकहरु बर्खायाम आउँदा जाग्राम बस्नुपर्ने बाध्यता थियो । घरभित्रै डुडुवा खोलामा आएको बाढीले छाल हान्थ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले पिरलिरहन्थ्यो । वडा नं. ५ कम्दी हरेक बर्ष बाढीबाट प्रभावित हुन्थ्यो । हरेक बर्ष यहाँ बाढीले स्थानीयलाई सताइरहन्थ्यो ।

यहाँका धेरैजसो गाउँहरु खोला नजिक छन् । जब वर्षायाम शुरु हुन्छ, यहाँका स्थानीयहरु मनमा जुनसुकै बेला बाढीको पानी आउन सक्ने खुलदुलीसँगै त्रासमा देखिन्थे । डुडुवा खोला नजिक रहेका बस्तीका नागरिकहरु त्रसित हुन्थे । अहिले ती नागरिकहरुको चिन्ता र डर हटेको छ । वडा नं. ५ कम्दी क्षेत्रका चार गाउँका नागरिकलाई बर्खायाममा समस्या झेल्नुपर्दैन ।

पहिले कमै प्रभावित हुने गाउँहरु पछिल्लो केही वर्षयता निकै प्रभावित बन्दै गएका छन् । प्रायःजसो खोलामा आउने बाढीले वडाभित्रका नागरिकलाई प्रभावित बनाउने गरेको छ । धेरैजसोको घरमा पानी पस्ने गरेको स्थानीयहरु बताउँछन् । बाढी घरमा पसेपछि भण्डारण गर्ने गरेको अन्नपातमा क्षतिसमेत पुग्ने गरेको छ । बाढीका कारण कतिपयले घर छोडेर सुरक्षित स्थानमा बस्नुपर्ने बाध्यता थियो ।

यस वडामा २०७२ र २०७५ सालमा डुडुवा खोलामा आएको बाढी यहाँका घरहरु डुबानमा परे । बाढीले धेरै नागरिकको सामानहरु क्षति बनायो । पहाडी क्षेत्रमा बर्षा हुँदा डुडुवा खोलामा आउने बाढीले वडाभित्रका केही बस्तीहरु जोखिममा पर्ने गरेका छन् । पहाडी क्षेत्रमा बर्षा भएर डुडुवा खोलामा आउने बाढीको जोखिम बढ्दै गएपछि खोलाका कतिपय ठाउँमा तटबन्ध निर्माण गरिएको छ ।

सबैभन्दा बढी जोखिम मानिने बस्ती जोगाउन तटबन्ध निर्माणपछि यहाँका बस्तीका स्थानीयवासीको राति आरामले सुत्ने सपना पूरा भएको छ । झण्डै ६०० मिटर क्षेत्रसम्म तटबन्ध निर्माणपछि यहाँका लिवाङ्गी टोल, मिलन चोक, तिलकपुर, लिवाङ्गी टोल र लडियाघाट लगायतका बस्ती मात्र नभई पूरै कम्दी क्षेत्र सुरक्षित भएको वडा नं. ५ का वडाध्यक्ष प्रशुराम बुढाथोकीले बताए ।

‘तटबन्ध निर्माणपछि बस्तीको जोखिम कम भएको छ । डुडुवा खोलाले हरेक वर्ष कटान गर्दै आएको क्षेत्रमा तटबन्ध निर्माण गरेपछि बस्ती पनि सुरक्षित भएका छन्,’ वडाध्यक्ष बुढाथोकीले भने । डुडुवा खोला आसपासका लिवाङ्गी टोल, मिलन चोक, तिलकपुर, लिवाङ्गी टोल र लडियाघाट लगायतका क्षेत्रमा तटबन्ध निर्माण कार्य सकिएसँगै बाढीको जोखिम पनि हटेको वडाध्यक्ष बुढाथोकीले बताए ।

वडा कार्यालयको पहलमा सिक्टा सिँचाई आयोजना र डुडुवा गाउँपालिकामार्फत लिवाङ्गी टोलमा १ करोड १५ लाखमा ३५० मिटर र लडियाघाट गाउँ क्षेत्रमा २० लाख लगानीमा १५० मिटर, गाउँपालिकाको लगानीमा मिलन चोक र तिलकपुरमा पनि ५/५ लाख लगानीमा ५०/५० मिटर लामो तटबन्ध निर्माण गरिएको छ । वडाध्यक्ष बुढाथोकीका अनुसार अहिले यी गाउँमा बाढीको जोखिम कम भएको छ ।

तटबन्ध निर्माण भएपछि चार वटै गाउँका २९१ भन्दा बढी घरपरिवार सुरक्षित भएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । ‘तटबन्ध नगरेको भए सामान्य बर्षात्मै यी गाउँहरु डुबानमा पर्थे र क्षति हुन्थ्यो,’ वडाध्यक्ष बुढाथोकीले भने । डुडुवा खोलाका जोखिमपूर्ण क्षेत्रमा तटबन्ध निर्माण भएपछि बाढी तथा डुवान र कटानको जोखिम कम भएको स्थानीयहरु बताउँछन् ।

तटबन्ध निर्माण भएपछि खोला किनार आसपास रहेका बस्तीमा डुडुवा खोलामा आउने बाढीका कारण निम्त्याउने जोखिम कम भएको वडाध्यक्ष बुढाथोकीको भनाई छ । उनले भने, ‘मेरो आफ्नै घर पनि बाढीको जोखिममा थियो । तटबन्ध निर्माणपछि अहिले जोखिम हटेको छ ।’ तटबन्ध निर्माणपछि डुडुवा खोलाको बाढी घरभित्र छिर्न पाउँदैन ।

स्थानीय स्थानीय भीम सार्कीले भन्नुभयो, ‘विगतमा डुडुवाको पानी बर्खायाममा घरभित्र पस्थ्यो, स्थानीय सरकारको पहलमा तटबन्ध निर्माण भएपछि ढुक्क भएर निदाउन पाइएको छ । डुडुवा खोला किनार क्षेत्रमा घर भएका परिवारका लागि तटबन्ध निर्माण बरदानजस्तै बनेको छ ।’ तटबन्ध निर्माणले स्थानीय नागरिकलाई अब बाढीले सताउने चिन्ता हटेको सार्कीले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १३:४७