सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा हस्तकला संकलनको लागि पुर्जी नपाउदा व्यवसायी समस्यामा

बझाङ । बझाङ जिल्लाबाट विदेश तथा चिनको तिवतमा निर्यात हुने नेपाली हस्तकला तथा फुरु संकलन गर्न डिभिजन वन कार्यालय बझाङबाट पुर्जी नपाउदा व्यवसायी समस्यामा परेका छन् ।

हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु लगाएत अन्य सामाग्रीहरु साइपाल गाँउपालिकाको ताक्लाकोट नाका भएर चिनियाँ बजारमा पठाउने गरिन्छ ।

बझाङको सदरमुकाम चैनपुरदेखि करिब ३ दिन पैदल यात्रा गरी पुगिने साईपाल गाउँपालिका संग जोडिएको चीनको तिब्बतको ताक्लाकोट बजारमा नेपाली फुरु र हस्तकलाका सामानको व्यापार हुदै आएको थियो ।

बझाङ जिल्लामा उत्पादन भएका नेपाली हस्तकला पछिल्लो समय डिभिजन वन कार्यालयले पुर्जी दिन बन्द गरिदिएपछि भने व्यवसाय नै धरापमा परेको फुरु व्यवसायी चुनम छिरिङ तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडालाई फुरु भनिन्छ । यसलाई तिब्बतमा ‘उडेन कप’को नामले चिनिन्छ ।

यहाँको विभिन्न जंगलमा पाइने सो काठबाट भाँडा निर्माण गर्नु हुम्ला र बझाङका हामी तामाङ र लामा जातिको पुख्र्यौली पेशा पनि हो । चिनिया बजारमा एक फुरुको ५ हजारदेखि १५ हजारसम्म मूल्य पाइन्थ्यो ।’

२ बर्ष यता डिभिजन वन कार्यालयले पुर्जी दिन बन्द गरिदिएकाले अहिले आफुले जानेको सिप समेत प्रयोग गर्न नपाएको व्यवसायी विर बहादुर लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तिब्बतमा जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभकार्यमा शौख र शानको प्रतीकका रुपमा लिइने फुरुको व्यापार गर्न हुम्ला र बझाङका अधिकांश व्यापारी ताक्लाकोटमा पसल खोलेर बस्ने गरेका छन् ।’ पछिल्लो समय वनले पुर्जी नदिएपछी कता जाने के गर्ने भन्ने भैराखेको लामाको भनाई छ ।

ताक्लाकोट बजारमा नेपालीले वर्षौंदेखि हस्तकलाका सामान, फुरु, गलैँचा, डोका, पाथी, जडीबुटीलगायत सामान बिक्री गर्दै, उनीहरुले चिनियाँ बजारबाट दैनिक उपभोग्यका सामान, चामल, मैदा र तयारी कपडा, जुत्ता, चिया,उन र रक्सि नेपालमा ल्याउने गरेका भएपनि पछिल्लो समय वन कार्यालयले केहि बर्ष यता पुर्जी दिन बन्द गरेपछी हस्तकला पेसा नै लोभ हुन लागेको हुम्लाका व्यवसायी भक्ति बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिला पनि त्यति सजिलैसँग फुरु बिक्री हुँदैनथ्यो । ताक्लाकोट बजारमा नेपाली हस्तकलाका सामानमा त्यहाँकोे स्थानीय सरकारले भन्सार तिर्न नपर्ने प्रावधान बनाएसँगै यसको कारोबार बढेको थियो । त्यो बेला वार्षिक करोडौँको फुरु चिनिया बजारमा बिक्री हुन्थ्यो ।’

नेपाली हस्तकला तथा फुरुको क्युफिटको हिसाबले पुर्जी दिन सकिने भएपनि डिभिजन वन कार्यालय बझाङले पुर्जी दिन बन्द गर्दा हस्तकला सम्वन्धी काम गर्ने तथा पेसाको विरासत बोकिराखेका व्यवसायिहरु माथि नै अन्याय भएको व्यवसायी पासाङ लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पुर्जी नदिदा फुरुको काठको काम गर्ने धेरै व्यवसायिहरुको पेसा धरापमा परेको छ । रुखमा हुने फुरुको कटिङले गर्दा रुखलाई कुनै पनि असर गर्दैन फुरु कटिङ गरेपछी रुख झन फ्रेस हुन्छ ।’ यस संग सम्वन्ध राख्नेहरुलाई कुनै कमिसन नआउने भएका कारण हस्तकला पेसालाई ओझेलमा पारेको लामाको भनाई छ ।’

बझाङबाट यार्सागुम्बा, वनलसुन, कटुकी, सतुवा, पाँचऔँले लगायत जडीबुटी ठूलो परिमाणमा निकासी हुने गथ्र्यो । यस्तै निगालोबाट बनेका सामान डोका, पाथी, र मह, घ्यू, छुर्पी, खुर्सानी लगायतका दैनिक उपभोग्य सामान चौरी, भेँडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोट नाकाबाट लिएर चिनिया बजारमा बेच्ने गरेको भए पनि पछिल्लो समय कोरोनाका कारण र फुरु लगाएतका नेपाली हस्तकला संङकलनको लागि डिभिजन वन कार्यालयले पुर्जी नदिदा उक्त व्यापार रोकिएको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ताक्लाकोटबाट लत्ताकपडा र दैनिक उपभोग्य सामान तिब्बतको उरैभञ्ज्याङ नाका भएर ल्याउथे । त्यो नाकाबाट सामान ल्याउदा सस्तो पनि पथ्र्यो ।’ साइपाल गाउँपालिकाका अधिकांश बासिन्दाले ताक्लाकोट नाकाबाटै कारोबार गर्ने गरेको अध्यक्ष धामीले बताउनुभयो ।

बझाङ, दार्चुला, हुम्ला र मुगुबाट होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगाला र अन्य हस्तकलाका सामान ताक्लाकोट, लुक्पु, खोचेर, लुकोटलगायतका चिनिया बजारमा बिक्री गर्थेे ।

तिब्बतमा चुरोट, रक्सी र गुट्खाजस्ता सामान सजिलै निर्यात गर्न दिए पनि तरकारीमा कडाइ गर्ने गरिएको थियो । पछिल्लो समय कोरोना महामारीले र हस्तकला संकलनको लागि डिभिजन वन कार्यालयलले पुर्जी दिन बन्द गरेपछी ताक्लाकोट नाका जाने मान्छेहरुको संख्यामा पनि कमि भएको र पुर्जी रोक्का गर्नाले पुख्यौली पेसा संकटमा समेत परेको व्यवसायी तन्जन लामाले बताउनुभयो ।

ताक्लाकोट नजिकै हिन्दू र बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर रहेको छ । भारत, नेपाल र चीनको भूभागसँग जोडिएको यस क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न चिनियाँ सरकारले अत्याधुनिक संरचना निर्माण गरिरहेको छ ।

हुम्लाको हिल्सा, दार्चुलाको तिङ्कर र बझाङको उरै भञ्जाङ नाका भएर वर्षेनी अरबौ आर्थिक कारोबार हुने गरेको भए पनि पछिल्लो समय नेपाली हस्तकला चिनिया बजारमा पुर्याउन नपाउदाँ आर्थिक कारोबारमा निकै घाँटा भएको र डिभिजन वनकार्यालयले माथिल्लो निकाय संग कुरा गरेर वा पहल गरेर पुर्जी वितरण सुरु गर्नुपर्ने उधोग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलिले बताउनुभयो ।

यता डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्ण बहादुर खातीले पहिला – पहिलाका कार्यालय प्रमुखहरुले क्युफिटको हिसावले पुर्जी दिने गरेको भएपनि सरकारले निश्चित राजस्व नतोकेका कारण आफुले पुर्जी दिन रोकेको बताउनुभयो ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार १०:४४