काठमाडौं । अफगानिस्तानबाट उद्धार भई कुवेत लगिएका थप नेपालीहरु आज राति फर्कने भएका छन् । चार्टर विमानबाट काठमाडौँ ल्याउन लागिएकाहरुमा भारतीय मूलका नेपाली समेत गरी १२९ जना रहेका छन् ।
गएराती पनि ८४ जना नेपाली काठमाडौँ आइपुगेका छन् । नेपाल आइपुगेकाहरुलाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशीस्थित होल्डिङ सेन्टरमा राख्ने गरिएको छ । भारतीय नागरिकलाई भने कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी भारतीय दूतावासको जिम्मा लगाइने छ ।
यता, परराष्ट्र मन्त्रालयले मंगलबार साँझसम्म अफगानिस्तानमा रहेका २५६ जना नेपालीले कन्सुलर सेवा विभागको बेव पोर्टलमा घर फर्कनको लागि आफ्नो विवरण दर्ता गरेको जनाएको छ ।
मन्त्रालयले त्यहाँ रहेका र सम्पर्कमा आएकामध्ये केही नेपाली नागरिकले अफगानिस्तानको पछिल्लो अवस्था आँकलन गरी आफ्नो नियमित काममा फर्किएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि हिजो मात्रै दुइवटा चार्टर्ड फ्लाइटमा २ सय १४ जना नेपाली काठमाडौं आइसकेका छन् ।
।