सूचनाको शक्ति - The Power Of Information

        

काबुलबाट उद्धार गरिएका थप ८७ नेपाली स्वदेश आइपुगे

काठमाडौं । अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् ।

गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट ८७ जना नेपाली काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ । हिजो बिहान १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगेका थिए ।

अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरु काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये २ सय ५ जना नेपाल आइपुगेका छन् भने उद्धार गरेर कतार पुर्‍याइएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।

स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्‍याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल ल्याइएकामध्ये सबैको कोरोना परीक्षण गरिएको छ, संक्रमण देखिएकालाई उपचार पछि घर पठाइने र संक्रमण नभएकालाई सिधै घर पठाइएको छ ।

अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा छन् । विदेशी नियोगहरुमा कार्यरत नेपालीलाई सम्बन्धित देशले उद्दार गरेर सुरक्षित ठाउँमा राखेको जनाएका छन् भने नेपालले पनि सम्पर्कमा आउन आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार ०९:२७