सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा निषेधाज्ञा थप एकसाता बढाइयो

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । प्रशासनले जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्मका लागि थप्ने निर्णय गरेको हो ।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, खानेपानी, सार्वजनिक तथा वित्तीय निर्माण कम्पनीसम्बन्धी कार्य, बैंक तथा वित्तीय संस्थालाई निर्वाध सञ्चालन गर्न सकिने जनाइएको छ ।

तरकारी फलफूल, दुग्ध पदार्थ बिहान ६ देखि बेलुका ७ बजेसम्म, खाद्यान्न पसल बिहान ८ देखि बेलुका ७ बजेसम्म खोल्न सकिने समयावधि निर्धारण गरिएको छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने र विकास निर्माणसँग सम्बन्धित कार्यालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल तथा रेष्टुरेन्टमा कुल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्ने गरी खुकुलो मापदण्ड बनाएको छ ।

निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सजाय हुने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सबै तहका परीक्षा सञ्चालन गर्न, सार्वजनिक यातायातका यात्रुलाई अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न उत्पे्ररित गर्नुपर्ने, विवाह, व्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्यमा २५ जनामा सीमित रहेर सम्पन्न गर्नुपर्ने, मठ–मन्दिर, गुम्बा, मस्जिदलगायत धार्मिक स्थलमा पुजारीले नित्यकर्मबाहेक सामूहिक पूजापाठ, मेला महोत्सव नगर्नसमेत प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १९:४३