सूचनाको शक्ति - The Power Of Information

        

नयाँ पार्टी खोल्ने नेपालको घोषणा, ओली सुध्रिए चुनावी तालमेल हुनसक्ने

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी बनाउने घोषणा गरेका छन्।

आफू पक्षीय जन वर्गीय संठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले एकताको सम्भावना सकिएको भन्दै नयाँ दल खोल्ने घोषणा घोषणा गरेका हुन्।

उनले ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँदै नयाँ पार्टी बनाउने बताएका हुन्।

उनले भने, ‘अब पार्टी पुनःगठन गरिनेछ। आन्दोलन जगाइने छ। लोकतन्त्रको झण्डा बुलन्द गरिनेछ। अब सबै पार्टीसँग सहकार्य गर्ने छौँ।’

आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए ।

नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’

नेपालले अहिले विभाजन भए पनि एकताको ढोका खुला रहने र अन्य कम्युनिस्ट पार्टीहरुसँग पनि सहकार्य हुने बताए । उनले उत्साहका साथ मैदानमा खटिन कार्यकर्तालाई आग्रह गरे ।

उनले संगठन विस्तारका लागि जुट्न कार्यकर्तालाई निर्देशन दिए।

सरकारले दल फुटाउन सजिलो हुने अध्यादेश ल्याएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहका १४ जना सांसदलाई कारवाही गर्दै संसद सचिवालय र निर्वाचन आयोगमा पत्राचार गरेका थिए ।

सोही निर्णयसँगै नेता नेपालले नयाँ पार्टी बनाउने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १९:२३