सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशका दुई सांसद्लाई पदमुक्त गर्न एमालेको पत्र

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका विनाविभागिय मन्त्री अजय शाही र सांसद् विमला खत्री ओलीलाई पदमुक्त गर्न पत्राचार गरेको छ ।

प्रदेशसभामा एमालेका मुख्यसचेत भूमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।

शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित हुनुभएको थियो ।

खत्री एमाले नेता उत्तरकुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित हुनुभएको थियो ।

शाहीले आफूलाई स्वतन्त्र सांसद् भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन् । ओली भने कहिले एमाले, कहिले नेकपा माओवादी भएको भन्दै विवादमा तानिनुभएको छ ।

पछिल्लो समय आफूले माओवादी केन्द्र रोजेको भन्दै सांसद् खत्री सोही दलका गतिविधिमा सहभागी हुँदै आएकी छन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १४:०५