सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

संसदमा माधव नेपाल चौथो ठूलो दलको नेता !

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनको अन्तिम तयारी गरेका छन् । उनले नयाँ बन्ने पार्टी र चुनाव चिन्ह समेतको तयारी पूरा गरेको बुझिएको छ । माधव नेपाललाई पार्टी विभाजनका लागि अनुकूल हुने गरी सरकारले अध्यादेशसमेत ल्याएको छ ।

माधव नेपाललाई पार्टी विभाजनका लागि अनुकूल हुने गरी सरकारले ल्याएको अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा ४० प्रतिशत संख्या बनाउनुपर्ने पुरानो व्यवस्थामा संशोधन गरी २० प्रतिशतमा झारिएको छ । नेपालले केन्द्रीय कमिटीमा २० प्रतिशत पुर्याउने भएका छन् । नेपालसँग ३० भन्दा बढी सांसद रहेको बुझिएको छ ।

उनले जनता समाजवादी पार्टीभन्दा ठूलो दल बनाउने लक्ष्यका साथ विभाजनको तयारी गरेका छन् । जसपासँग अहिले ३२ सांसद छन् । जसमध्ये ३३ प्रतिशत महन्थ ठाकुर पक्षधर हुन् । माधव नेपालले ३३ सांसद बनाए चौंथो ठूलो पार्टी बन्न सक्छन् । प्रतिनिधि सभामा एमाले सबैभन्दा ठूलो दल छ ।

एमालेसँग १२१ सांसद छन् । माधव नेपाल पक्षमा ५९ सांसद गएपनि एमाले नै ठूलो दल रहनेछ । नेपाली काँग्रेससँग ६१ सांसद छन् । त्यसपछि माओवादी केन्द्रसँग ४९ सांसद छन् । चौंथो ठूलो दल जसपासँग ३२ सांसद छन् । अब एमाले फुटेमा जसपा पाचौं स्थानमा धकेलिनसक्छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १३:५०