सूचनाको शक्ति - The Power Of Information

        

नेपाल आयल निगम

नेपालगन्जमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालनको अन्तिम चरणमा

निगमले पम्प सञ्चालनमा ल्याएपछि नीजि पेट्रोल पम्पहरुबाट इन्धन भर्ने परिमाण नपुग्ने, इन्धनको शुद्धता लगायतका समस्याबाट उपभोक्ताले मुक्ति पाउनेछन् ।

बाँके । नेपाल आयल निगम लिमिटेडले नेपालगन्जमा आफ्नै पेट्रोल पम्प सञ्चालनको तयारी अन्तिम चरणमा पुर्याएको छ । झण्डै तीन करोड रुपैयाँको लागतमा ‘केमिकल फोम’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण कार्य अन्तिम चरणमा पुगेको निगमले जनाएको छ ।

निगमका अनुसार नेपालगन्जमा सञ्चालनको तयारीमा रहेको पेट्रोल पम्प मुलुककै पहिलो आधुनिक पेट्रोल पम्प हुनेछ । पूर्ण स्वचालित प्रविधिको पम्प असोजभित्रै सञ्चालनमा ल्याउने आयल निगमको तयारी छ । पेट्रोल पम्पको अन्डरग्राउण्डमा पनि हालसम्मकै धेरै १.०७ लाख लिटर तेल अटाउने पाँचवटा ट्यांकी राखिनेछ ।

पम्प परिसरमा बैंकको एटीएम सेन्टर र डेबिट क्रेटिड कार्ड ‘स्वाइप’ गर्ने मेसिनसमेत जडान हुनेछ । ‘स्वाइप’ मेसिन जडानपछि उपभोक्ता डेबिट क्रेटिड कार्डको प्रयोग गरेर आफैँले तेल भर्ने सुविधा लिन पाउनेछन् । पश्चिम नेपालकै नमूनाका रुपमा निर्माण हुने पम्प निगमको आफ्नै ११ कठ्ठा जग्गामा पेट्रोल पम्प निर्माण भइरहेको छ ।

पेट्रोल पम्प सञ्चालनमा आएपछि सवारी चालकले सवारी साधनमा इन्धन भर्ने क्रममा सवारी धनीलाई जालझेल गरेर ठग्न पाउने छैनन् । अत्याधुनिक पेट्रोल पम्पमा तेल भर्नका लागि अत्याधुनिक डिस्पेन्सिङ्ग जडान हुने निगमले जनाएको छ । अत्याधुनिक पेट्रोल पम्पमा निर्माणका लागि गत भदौंमा ठेक्का सम्झौता भएको थियो ।

निगमका अनुसार सवारी साधनमा इन्धन भर्दा सवारी चालकलाई अनिवार्य बील दिइने र इन्धन कति मात्रामा भरेको जानकारी सवारी धनीको मोवाइल नम्बरमा सवारी साधनको नम्बरसहितको म्यासेज (एसएमएस) इन्धन भर्ने बित्तिकै सवारी धनीको मोवाइलमा पुग्ने हुँदा चालकले सवारी धनीलाई जालझेल र ठगी गर्न पाउने छैनन् ।

अत्याधुनिक पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कसप, कफिसप र अत्याधुनिक शौचालय निर्माण अन्तिम चरणमा पुगेको पनि निगमले जनाएको छ । पेट्रोल पम्पभित्रका बन्ने भवन तथा संरचनाहरुमा अत्याधुनिक एसी जडान गरी वातानुकुलित बनाइएको पनि आयल निगमले जनाएको छ ।

अत्याधुनिक सफ्वेयर जडान गरिएको पेट्रोल पम्प नेपालगन्ज उपमहानगरपालिका–१० मा निर्माण सम्पन्न हुँदैछ । निगमले पम्प सञ्चालनमा ल्याएपछि नीजि पेट्रोल पम्पहरुबाट इन्धन भर्ने परिमाण नपुग्ने, इन्धनको शुद्धता लगायतका समस्याबाट उपभोक्ताले मुक्ति पाउनेछन् भने नीजि क्षेत्रका पम्पहरुलाई पनि स्तरोन्नती गर्नुपर्ने दवाव र चुनौति बढ्नेछ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार ०९:२९