काठमाडौं । उज्बेकिस्तानले अफगानिस्तानका सैनिक चढेको एक विमानलाई खसालिदिएको छ ।
सीमा पार गर्न खोजेकाले हवाई प्रतिरक्षा बलले सो सैन्य विमानलाई खसालिदिएको उज्बेकिस्तानको रक्षा मन्त्रालयले जानकारी दिएको हो ।
उक्त विमानमा कति जना चढेका थिए र कोही जीवित छन् कि छैनन् भन्ने खुलेको छैन । यद्यपि समाचार संस्था एएफपीले सेनाको पोशाक लगाएका दुई जना अस्पतालमा भर्ना भएको एक चिकित्सकलाई उद्धृत गर्दै लेखेको छ ।
वितेको ४८ घण्टाको अवधिमा ७५० जना अफगान सैनिक भागेर उज्बेकिस्तान पुगेका समाचारहरु सार्वजनिक भएका छन् ।
६०० जना अफगान सैन्य विमानमार्फत् उज्बेकिस्तान पुगेको बीबीसीले जनाएको छ । उज्बेकिस्तान प्रशासनका अनुसार दक्षिणी शहर तेरमेजमा ४६ सैन्य विमान अवतरण गरेका छन् ।
यी विमानलाई स्कर्टिङ गरेको एक अफगान विमान र उज्बेक लडाकु विमान आपसमा ठोक्किएको दाबी उज्बेकिस्तानको प्रोसिक्युटर जनरलको कार्यालयले जनाएको छ । दुबै विमानका पाइलट भने जोगिएका छन् ।
अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको छ । काबुल छाड्न चाहनेहरुको विमानस्थलमा भिडभाड छ ।
अमेरिकी एयरफोर्सको एक विमानसँगसँगै रनवेमा मानिसहरु दौडिरहेको र सो विमान उडेपछि केही मानिसहरु खसेको भिडियो सार्वजनिक भएको छ ।
विमानस्थलको स्थिति नियन्त्रणमा लिन अमेरिकी सैनिकले गोली चलाउँदा नौ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
साठीभन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर अफगानिस्तानबाहिर जान चाहनेहरुलाई जान दिन तालिबानलाई आह्वान गरेका छन् ।
विद्रोही तालिबान लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले गत आइतबार देश छाडेका थिए । उनी कहाँ छन् भन्ने खुलेको छैन ।
पूरै अफगानिस्तानमा नियन्त्रण जमाएपछि तालिबानले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको छ ।
।