सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

कम्दीमा गाउँपालिकाकै ‘नमूना स्वास्थ्य चौकी’

स्वास्थ्य चौकीप्रति वडाबासीको विश्वास बढ्दै गएकाले उपचार लिन आउने सेवाग्राहीको संख्या बढेको छ ।

बाँके । डुडुवा गाउँपालिका–५ कम्दीस्थित स्वास्थ्य चौकी पालिकाकै नमूना स्वास्थ्य चौकीमा गनिन्छ । पालिकाका अन्य वडामा रहेका अन्य स्वास्थ्य संस्थाभन्दा कम्दी स्वास्थ्य चौकीले ‘अब्बल’ र ‘गुणस्तरीय’ सेवा दिँदै आएको छ । यस स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाहरु सहजरुपमा स्थानीयले प्राप्त गरिरहेको सेवा लिने नागरिकको विवरणले देखाउँछ ।

भनिन्छ, सेवा प्रवाह सहज नहुँदासम्म सेवाग्राहीले सास्ती खेप्नुपर्छ । तर स्वास्थ्य चौकीमा अहिलेसम्म कसैले सास्ती र दुख खेप्नुपरेको छैन । सहज र सुलभ सेवा प्रवाहलाई मध्यनजर गर्दै सेवा प्रदान गर्ने गरिएको स्वास्थ्य चौकीका निमित्त प्रमुख बीरबहादुर पुनले जानकारी दिए । यहाँ स्वास्थ्य चौकीबाट दिइने अन्य सेवासँगै प्रसुति कक्ष पनि सञ्चालनमा छ ।

पालिकाका अन्य वडामा प्रसुति गृह नहुँदा समस्या छ, तर यहाँ प्रसुति सेवा सञ्चालनमा रहेकाले स्थानीय गर्भवती महिलाले सहज र सन्तोषजनक सेवा लिइरहेको स्थानीयहरुको भनाई छ । यस वडालाई नमूना बनाउनका लागि स्वास्थ्य संस्थाले पनि उत्कृष्ट योगदान गरिरहेको डुडुवा गाउँपालिका–५ का वडाध्यक्ष प्रशुराम बुढाथोकीले बताए ।

उनले यहाँका स्वास्थ्य सेवाको अवस्थामा अन्य स्वास्थ्य संस्थाभन्दा राम्रो रहेको जानकारी दिए । यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा लिन समस्या भएको जनगुनासो आएपछि यहाँ दुई कोठे भवन निर्माण गरेपछि सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष बुढाथोकीले बताए । उनका अनुसार भवन निर्माणपछि वडाबासीहरुले सहजै सेवा पाइरहेका छन् ।

गाउँपालिकाको लगातमा भवन निर्माण भएका कारण सेवालाई सहज बनेको हो । सेवा लिनका लागि स्वास्थ्य संस्थामा डुडुवा वडा नं ४ र नेपालगन्ज क्षेत्रका बिरामीहरु समेत पुग्ने गरेका छन् । ‘हामीले स्वास्थ्य संस्थाबाट राम्रो सेवा दिएकाले होला अन्य ठाउँबाट पनि यहाँ सेवा लिन आउनुहुन्छ,’ स्वास्थ्य चौकीका निमित्त प्रमुख बीरबहादुर पुनले भने ।

स्वास्थ्य संस्थाले वडाको सबै जनतासामु सेवा पुर्याउन टाढाका क्षेत्रलाई लक्षित गरेर खोप केन्द्र स्थापना गरी सेवा प्रदान गरिरहेको छ । स्वास्थ्य संस्थाले यहाँसहित ३ वटा खोप केन्द्र सञ्चालन गरिरहेको छ । वडाका टाढाका टोल, गाउँहरु डलैपुर, रंगैईताल, गोहना, जब्दहवा, तिलकपुरलाई लक्षित गरी पूर्वी तिलकपुरमा स्वास्थ्य खोप केन्द्रको स्थापना गरिएको छ ।

गत २०७७ साउनदेखि २०७८ असार ७ गतेसम्म यहाँको प्रसुति गृहमा १६६ जना सुत्केरी भएका छन् । स्वास्थ्य संस्थाको तथ्यांकमा १६६ जनामध्ये वडा नं. ४ का ८५ जना, वडा नं. ५ का ६८ जना र गाउँपालिका बाहिरका १३ जनाले प्रसुति सेवा लिएका छन् । सेवा लिनेहरु खुशी भएर फर्किने गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख पुनले जानकारी दिए ।

त्यस्तै नियमित स्वास्थ्य कार्यक्रम अन्तरगत पोषण, सुरक्षित मातृत्व, दुई ठाउँमा गाउँघर क्लिनिक सञ्चालित छ । यहाँका आमाहरुलाई स्वास्थ्यका बारेमा जानकार बनाउन ‘आमा समूह’ कार्यक्रम सञ्चालन गरिएको छ । वडाका आठ जना महिला स्वास्थ्य स्वयंसेविकाको नेतृत्वमा रहेका आठ वटा आमा समूह नियमितरुपमा मासिक बैठक बस्छन् ।

एउटा समूहमा १५ जना महिला आवद्ध छन् र त्यहाँ महिला स्वास्थ्य स्वयंसेविकाहरुको नेतृत्वमा स्वास्थ्य लगायतका बिषयमा चर्चा हुन्छ । नेपाल सरकारले २०७६ मा जारी गरेको राष्ट्रिय मापदण्ड अनुसार आमा समूह निर्माण गरिएको र समूहको कार्यकारिणी सदस्यमा महिला स्वास्थय स्वयंसेविका रहेको निमित्त प्रमुख पुनले बताए ।

यस वडाको स्वास्थ्य क्षेत्रलाई थप सुरक्षित र भरपर्दो बनाउनका लागि एम्बुलेन्स सेवा सञ्चालनको तयारीसमेत थालिएको वडाध्यक्ष बुढाथोकी बताउँछन् । उत्कृष्ट स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै डुडुवा गाउँपालिकाले स्वास्थ्य चौकी कम्दीमार्फत एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी थालेको वडाध्यक्ष बुढाथोकीले बताए ।

पालिकाकै उत्कृष्ट स्वास्थ्य संस्था स्वास्थ्य चौकी कम्दीमा भौतिक पूर्वाधारको अवस्था पनि राम्रै रहेको छ । यद्यपी आफूहरु दिनरात सेवामा खटिए पनि कहिँकतैबाट प्रोत्साहन नभएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । अझै पनि यहाँको स्वास्थ्य सेवालाई अझ राम्रो बनाउन जनसहभागिता आवश्यक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सामुदायीक जनसहभागिता भएको खण्डमा हालको सेवा प्रवाहमा अझै निखारता आउने स्वास्थ्य चौकीका निमित्त प्रमुख पुन बताउँछन् । नियमित रुपमा स्वास्थ्य कार्यक्रम सञ्चालनमा छन्, तर ती कार्यक्रममा समुदायको सहभागितामा अझै कमी देखिन्छ । पछिल्लो समयमा भने स्वास्थ्य चौकी कम्दीप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको छ ।

‘हामीले नियमितरुपमा स्वास्थ्य सेवा दिइरहँदा तलबका लागि कर्मचारीले काम गरेजस्तो सर्वसाधारणको व्यवहार हुन्छ,’ निमित्त प्रमुख पुनले भने, ‘यसमा समुदायले अपनत्व लिनुपर्छ । त्यसो भएमा यहाँको स्वास्थ्य सेवा सुनमा सुगन्ध थपिएजस्तै हुन्छ ।’ स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरुको व्यबहारप्रति कतिपय नागरिकले खुलेरै प्रशंसा गर्ने गरेका छन् ।

वडाध्यक्ष बुढाथोकीका अनुसार स्वास्थ्य चौकीप्रति वडाबासीको विश्वास बढ्दै गएकाले उपचार लिन आउने सेवाग्राहीको संख्या पनि बढेको छ । सेवाग्राहीलाई सन्तोष पार्न स्वास्थ्य संस्थाबाट दिइने सेवासँगै स्वास्थ्यकर्मीको व्यवहार र सक्रियताका कारण सेवाग्राहीको मन जित्न अहम् भूमिका खेलेको पनि वडाध्यक्ष बुढाथोकीले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार ०८:३६