सूचनाको शक्ति - The Power Of Information

        

विचार

जानकीमा शैक्षिक गुणस्तर वृद्धि चुनौतिपूर्ण

अधिकांश विद्यालयमा शिक्षकको व्यवस्थापन चुनौतिपूर्ण रहेको छ । जानकी गाउँपालिकाले शिक्षाको गुणस्तर उकास्नका लागि समस्या पहिचान गरेर समाधानको पहल थालेको छ ।

बाँकेको जानकी गाउँपालिका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको केन्द्र बिन्दु तथा प्रमुख औद्योगिक, ब्यापारिक र कृषियोग्य स्थल भएको गाउँपालिका हो । यस गाउँपालिका पूर्वमा नेपालगन्ज उपमहानगरपालिका, उत्तरमा कोहलपुर नगरपालिका, पश्चिममा खजुरा गाउँपालिका र दक्षितमा भारत पर्दछ । ६ वडा रहेको गाउँपालिका ६३.३२ वर्ग किलोमिटरमा फैलिएको छ भने ६७२४ घरधुरीमा १९३३३ पुरुष र १८४०६ महिला गरी यहाँको कुल जनसंख्या ३७८३९ रहेको छ । पिप्रहवा चोक र मानपुरलाई गाउँपालिकाकै मुख्य बजार मानिन्छ ।

कुल जनसंख्याको ५.१९ प्रतिशत बालबालिका विद्यालय उमेर समुहका छन् भने यहाँको साक्षरता ९८ दशमलव ६७ प्रतिशत छ । जानकी गाउँपालिकाका विभिन्न वडामा २४ सामुदायिक, १४ मदरसा, १ गुरुकुल, १८ सामुदायमा आधारित वालविकास केन्द्रहरु र ८ वटा संस्थागत विद्यालय गरी कुल ६५ वटा शिक्षण संस्था रहेका छन् । गाउँपालिकामा शिक्षक दरबन्दी (स्थायी, अस्थायी, राहत, शिक्षण सिकाई अनुदान र गाउँपालिका करार अनुदान) संख्या १३६ रहेकोमा पदपूर्ति शिक्षक संख्या १३४ रहेको छ ।

जानकी गाउँपालिका अन्तरगत अन्य क्षेत्रका अतिरिक्त शिक्षा क्षेत्रमा पनि धेरै चुनौतिहरु छन् । यहाँ आधारभूत शिक्षा निशुल्क तथा अनिवार्य र माध्यमिक शिक्षा निशुल्क अवधारणा लागु भए पनि विद्यालयमा आर्थिक अवस्थालाई सुदृढ गर्नुपर्ने देखिन्छ भने विद्यायमा स्वच्छ खानेपानी, बालमैत्री, छात्रामैत्री तथा अपाङ्गमैत्री शौचालय पर्याप्तरुपमा निर्माण भइसकेका छैनन् । विद्यालय छाड्ने दरलाई शुन्यमा झार्न गाउँपालिका अन्तरगत शिक्षा, युवा तथा खेलकूद शाखा लागिपरेको छ भने विद्यालय भवन सुरक्षित तथा भूकम्प प्रतिरोधी बनाउनुपर्ने आश्यकता छ ।

त्यस्तै, शिक्षक–विद्यार्थी अनुपात मिल्न नसकेकाले विद्यार्थी संख्याअनुसार शिक्षक दरबन्दी पूर्ति हुन सकिरहेको छैन । जसका कारण पठनपाठनमा कठिनाई भइरहेको देखिन्छ भने विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय शिक्षामा प्रवेश गराउनुपर्ने चुनौति पनि देखिएको छ । शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउन शिक्षक तथा कर्मचारीलाई सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कार्यमा क्षमता अभिवृद्धि गराउन जरुरी देखिएको छ भने स्थानीय पाठ्यक्रम निर्माण अर्को चुनौतिका रुपमा देखिएको छ ।

त्यसैगरी यस पालिकामा स्थानीय शिक्षा ऐन कार्यान्वयनमा आएको जटिलता तथा समस्यालाई निराकरण गर्नु, मधेशी समुदायमा चेतनास्तरमा वृद्धि गरी शिक्षाप्रति चासो, चिन्ता तथा उत्प्रेरणा जगाउनु, शैक्षिक क्षति न्यून गर्नु र विद्यालयमा पर्याप्त भौतिक सुविधा सम्पन्न गरी पठनपाठन प्रक्रियालाई थप व्यवस्थित गर्नुजस्ता तत्कालिन तथा दिर्घकालिन चुनौतिहरु छन् । शैक्षिकस्तर उकास्नका लागि स्थानीय तहको सहयोगमा भौतिक संरचना निर्माणदेखि, विद्यालय व्यवस्थापन, शिक्षक व्यवस्थापन लगायत साक्षर पालिका घोषणा, बालमैत्री, अपाङ्गतामैत्री विद्यालयको विकास लगायतका कामहरु भइरहेका छन् ।

शिक्षामा बजेट

अधिकांश विद्यालयमा शिक्षकको व्यवस्थापन चुनौतिपूर्ण रहेको छ । जानकी गाउँपालिकाले शिक्षाको गुणस्तर उकास्नका लागि समस्या पहिचान गरेर समाधानको पहल थालेको छ । गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । हरेक परिवर्तन शिक्षामार्फत सम्भव हुने भएकाले बर्सेनि शिक्षा क्षेत्रको बजेट बढाउँदै लगिएको गाँउपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा विभिन्न खर्च शीर्षकमा रकम विनियोजन भई खर्च भएको छ ।

गाउँपालिकाले आधारभूत तहका स्विकृत दरबन्दीका शिक्षक, राहत अनुदानमा ५ करोड १४ लाख विनियोजित रकममध्ये ३ करोड १८ लाख ४३ हजार ५५५ रुपैयाँ खर्च गरिसकेको छ । त्यस्तै माध्यमिक तहका स्वीकृत दरबन्दीका शिक्षक, राहत अनुदान शिक्षकका तलब भत्ता अनुदानमा ३० लाखमध्ये १९ लाख ५८ हजार १२० रुपैयाँ खर्च गरेको छ । प्रारम्भीक वालविकास सहजकर्ताहरुको पारिश्रमिक तथा विद्यालय कर्मचारी व्यवस्थापन अनुदानमा ८५ लाख ७० हजारमध्ये ३३ लाख ६८ हजार रुपैयाँ खर्च भएको देखिन्छ ।

राष्ट्रपति रनिङ्ग शिल्ड (स्थानीय तहस्तरीय) १ लाख रकम विनियोजन भएर खर्च भइसकेको छ । विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदानमा १७ लाख २१ हजारमा १६ लाख ७६ हजार खर्च भएको छ भने शैक्षिक पहुँच सुनिश्चिातता अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रममा ५७ लाख ६६ हजारमा १३ लाख खर्च भएको छ । त्यस्तै तोकिएको विद्यार्थीको लागि दिवा खाजा पौष्टिक आहारका लागि विद्यालयलाई अनुदानमा १ करोड ६४ लाख २१ हजारमा २० लाख ३७ हजार ४६० रुपैयाँ खर्च भएको छ ।

त्यस्तै विद्यालय शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्य सम्पादनमा आधारित प्रोत्साहन अनुदानतर्फ २२ लाख १० हजार विनियोजन गरेकोमा १८ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ भने सार्वजनिक विद्यालयका विद्यार्थीका लागि निशुल्क पाठ्यपुस्तक खरीद तथा वितरणमा २८ लाख ७८ हजारमध्ये २७ लाख ९८ हजार ८८ रुपैयाँ खर्च भएको छ भने प्रति विद्यार्थी लागतका आधारमा शिक्षण सिकाई सामाग्री एवम् कक्षा ८ को परीक्षा व्यवस्थापनका लागि १६ लाख ८८ हजार रकम विनियोजन गरेकोमा १२ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ ।

सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति १८ हजार ६१ हजार रुपैयाँ विनियोजन गरेकोमा १६ लाख ७२ हजार ४०० रुपैयाँ खर्च भएको छ । विद्यालय भौतिक पूर्वाधार निर्माणमा ८६ लाख रकम विनियोजन भएकोमा पूर्वाधार निर्माणमा खर्च भइरहेको छ । गाउँपालिकाले शैक्षिक प्रगति, शिक्षा सुधारका लागि आवश्यक सुझाव संकलन गर्दै आएको छ । विद्यालयमा सघनरुपमा अनुगमन गर्ने र शैक्षिकस्तर उकास्नका लागि त्यहाँ पाइएका समस्या, सुझाव, सल्लाहलाई अभिलेखीकरण गर्ने र सोहिअनुरुप बजेट व्यवस्थापन गर्दै आएको छ ।

साक्षर गाँउपालिका घोषणा

शिक्षा क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धीका रुपमा जानकी गाउँपालिका २०७६ असार २९ गते साक्षर गाउँपालिका घोषणा भइसकेको छ । गाउँपालिकामा ९८ दशमलब ६७ प्रतिशत नागरिक साक्षर भएपछि साक्षर नेपाल अभियान अन्तरगत तेस्रो साक्षर गाउँपालिकाका रुपमा जानकी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको थियो । गाउँपालिकालाई साक्षर बनाउन गाउँपालिकाले विशेष साक्षरता कक्षा सञ्चालन गरेको थियो ।

गाउँपालिका ६ वटै वडामा ४५६ अनौपचारिक शिक्षामार्फत ८ हजार ६६३ जनालाई साक्षर बनाइएको थियो । गाउँपालिका ६ वटा वडामध्ये वडा नं.४ सबैभन्दा बढी ९९ दशमलब ३३ प्रतिशत साक्षर रहेका छन् । वडा नं. १ मा सबैभन्दा कम ९७ दशमलब ६ साक्षर रहेका छन् । साक्षर गाउँपालिका घोषणापछि जिल्ला समन्वय समिति बाँकेले जानकी गाउँपालिकालाई प्रोत्साहन स्वरुप १२ लाख ५० हजार रुपैयाँ प्रदान गरेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार ०८:१०