सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

सीमापारिको किनमेलले कोरोनाको जोखिम

फाइल तस्वीर

बाँके । कोरोना सङ्क्रमणको तेस्रो लहर आउने जोखिम रहेका बेला विभिन्न सामान खरिदका लागि सीमापारिको भारतीय बजार रुपैडिहा जानेहरू दिनदिनै बढ्दै गएका छन् । किनमेलका लागि सीमापारि जाने सयौँ नेपालीका कारण कोरोना सङ्क्रमण बढ्ने सबैभन्दा ठूलो जोखिम र खतरा देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

भारतमा फेरि कोरोनाका सङ्क्रमितहरू बढ्न थालेकाले सिमानामा कडाइ गर्न तथा निगरानी बढाउन माग गरिरहेकै बेला दैनिक सयौँको सङ्ख्यामा किनमेलका लागि मात्रै नेपाली सीमापारि गइरहेको नेपालगन्जका कपडा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए । उनले दैनिक किनमेलका लागि जानेहरूलाई नियन्त्रण गर्न नसकिए अवस्था भयावह बन्ने बताए ।

कोरोनाको दोस्रो लहरको बेला मालसामान खरिदका लागि रुपैडिहा जानेहरू घटे पनि अहिले आएर फेरि दैनिक सयौँ खरिदारीका लागि जाने गरेकाले जोखिम र खतरा अत्यधिक बढेको छ । सामान्य घरायसी सामान खरिदका लागि सीमा वारपार गर्नेलाई नियन्त्रण गर्न नसके अवस्था धेरै जटिल बन्न सक्ने भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले बताए ।

उनले सिमानामा जति सके कम मानिसको आवागमन गराउन सकिए मात्रै सुरक्षा अपनाउन सकिने बताए । रुपैडिहा सामान खरिदका लागि जानेहरू अटो र मोटरसाइकलमा सीमासम्म जाने, सवारी त्यहीँ पार्किङ गरेर उताको बजारमा पुग्ने गरेका छन् । रुपैडिहाबाट सीमासम्म भारतीय सवारीसाधनको प्रयोग गरी पैदलै नाका पार गर्ने गरेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले रोग महामारी निम्त्याउने गरी सिमानामा भइरहेको आवागमन तत्काल बन्द गर्न आग्रह गरे । उनले सामान्य घरायसी सामान खरिदका लागि मात्रै सयौँको सङ्ख्यामा नेपालीलाई बिना कुनै रोकटोक भारतीय बजारमा जान दिनु गम्भीर लापरबाही भएको बताए ।

उनले महामारीको अवस्था पूर्णरूपमा निको नहुँदासम्म सीमा ठप्प पारी नेपालगन्ज बजार सतर्कतापूर्वक खोल्नुपर्ने बताए । बाँके जिल्ला पटक पटक कोरोना महामारीको हटस्पट बन्नुको कारण दैनिक किनमेलका लागि सीमापारिको बजारमा जानेहरू नै रहेको पनि अध्यक्ष मन्सुरीले बताए । उनले सीमानालाई पूर्णरूपमा बन्द नगरिए किनमेलकै लागि सीमापारि जानेलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार ०७:३८