सूचनाको शक्ति - The Power Of Information

        

समाचार

हवाइजहाज र एसी बसको भाडा बराबर !

काठमाठौं । हवाइ यातायातमा प्रतिस्पर्धा हुँदा अधिकांश गन्तव्यको भाडा घटेको छ । हवाइ कम्पनीहरुले कुनै गन्तव्यमा एसी बस बराबरकै भाडा लिइरहेका हुन् । दैनिक तलमाथि हुने हवाइ भाडा सोमबार र मंगलबारको लागि सिमरा र पोखरा १५ सय रुपैयाँ रहेको छ । यति एयरलाइन्सले ‘यति सस्तो अफर’ ल्याएको छ ।

कम्पनीले सोमबार र मंगलबार लागु हुने गरी काठमाडौं–सिमरा र काठमाडौं–पोखरा उडानको १५ सय रुपैयाँमात्रै रहेको छ । त्यस्तै बुद्ध एयरको पनि मंगलबारको लागि एकतर्फी भाडा १६ सय ४५ रुपैयाँ तोकेको छ । यति एयरलाइन्सले शनिबारसम्म काठमाडौं सिमरा र पोखरा १५ सय, भैरहवा १८ सय, विराटनगर १८ सय, भद्रपुर १९ सय र नेपालगन्जको २५ सय भाडा तोकेको थियो ।

यति एयरलाइन्सका सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले हवाइ यात्रु कम हुँदा भाडामा प्रतिस्पर्धा भइरहेको बताएका छन् । उनले यात्रुको चाँप हेरेर भाडा बढ्ने घट्ने गरेको बताए । ‘यात्रु कम भएपछि भाडा त घटिहाल्छ,’ बर्तौलाले भने, ‘विगतका वर्षमा पनि वर्षातको समयमा यात्रुको चाँप कम नै हुन्थ्यो । यो वर्ष कोभिडको कारणले झनै मानिस आउजाउ कम गरिरहेका छन् ।’

बर्तौलाले सबै गन्तव्यको मूल्य भने नघटेको बताए । पर्यटक आउजाउ गर्ने पोखरा, भैरहवा, नेपालगन्ज लगायतका क्षेत्रमा भाडा घटेको उनी बताउँछन् । ‘एउटै गन्तव्यको पनि सबै उडानमा छुट हुँदैन । केही सिट संख्या छुटमा दिइएका हुन्छौँ,’ यति एयरलाइन्सका सुरक्षा प्रमुख तथा प्रवक्ता बर्तौलाले भने, ‘कस्तो अफर रहेको छ भन्ने यति एयरलाइन्सको एप वा फेसबुक पेजमार्फत जानकारी लिन सकिन्छ ।’

बुद्ध एयरलाइन्सका बजार प्रमुख रुपेश जोशीले यात्रुको चापअनुसार नै भाडा घटीबढी हुने बताउँछन् । ‘हामीले सबै गन्तव्यमा बुद्धको उडान भरिरहेका छौँ’, जोशीले भने, ‘पछिल्लो समय क्षेत्रीय उडान गरिरहेका छौँ । यात्रु कम भएको गन्तव्यमा उडानभाडा केही सस्तो रहेको छ ।’ हवाइ कम्पनीका अनुसार ९० प्रतिशत अकुपेन्सीसहित उडान भरिरहेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १५:५८