सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असार २८ गते पुनःस्थापित भएर करिब एक महिना चलेपछि प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

एकजना मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले आजै मध्यराति १२ बजेदेखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय लिएको हो । सोमबार प्रतिनिधिसभा बैठक बसेपछि अधिवेशन अन्त्य हुने भएको हो । दल विभाजनसम्बन्धी कानुन अघि बढाउन नपाएर सरकारले अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन ।

यस्तो अवस्थामा सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याउने तयारी गरेको छ । कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनले माधवकुमार नेपाललाई एमाले फुटाएर नयाँ पार्टी बनाउन सहज बाटो खोलिदिने तयारी गरेका छन् ।

गठबन्धन सरकारले पार्टी फुटाउनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई खुकुलोद बनाउने तयारी गरेका छन् । जसअनुसार दल वा केन्द्रीय कमिटिमा ४० प्रतिशत पुगे हुने प्रावधान तथा ४० प्रतिशतको थ्रेस होल्डलाई ३० या ३५ प्रतिशतमा झार्ने रणनीति गठबन्धनले बनाएको छ ।

तत्कालै संसद अन्त्य गरेर दल विभाजनसम्बन्धी कानुन संशोधनका लागि अध्यादेश ल्याउने तयारीमा गठबन्धन जुटिसकेका छन् । त्यसपछि माधव नेपाल समुह पनि सत्तामा आउने विश्वास काग्रेस र माओवादीले गरेका छन् । पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन साउन ३ गतेदेखि सुरु भएको थियो । संघीय संसदका दुवै सदनको अधिवेशन अहिले जारी छ ।

सरकारले प्रतिनिधिसभा बिजनेस दिन असफल भइरहेको छ । राष्ट्रियसभामा विवादमा नपरेका केही विधेयकमा छलफल गरेर तल्लो सदनमा पठाइरहेको छ । तर तल्लो सदनले यी विधेयकमाथि छलफल थाल्नै सकेको छैन । संसदलाई बिजनेस दिने जिम्मेवारी बोकेको सरकार नै एक महिनादेखि विस्तार हुन सकेको छैन । देउवा नेतृत्वको सरकारमाथि नागरकिता कानुन, अमेरिकी परियोजना एमसिसी आदि पास गर्नुपर्ने दबाब थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १५:५०