बाँके । बाँकेमा वर्षासँगै बढ्दो गर्मीका कारण सर्पदंशका घटना बढ्दै गएका छन् । बाँकेको भेरी अस्पतालमा सर्पदंशका बिरामी आउने क्रम वृद्धि भएको अस्पतालले जनाएको छ । भेरी अस्पतालमा बाँकेका मात्र नभई बर्दिया, दाङ र कैलालीलगायत अन्य जिल्लाबाट रिफर गरिएका सर्पदंशका बिरामीको चाप बढेको अस्पतालका प्रमुख डा.प्रकाश थापाले बताए ।
उनका अनुसार भेरी अस्पालतमा दैनिक १०–१५ जना सर्पदंशका बिरामी आइरहेका छन् । वर्षात् सुरु भएसँगै बाँके, बर्दिया, दाङ, कैलालीलगायतका जिल्लामा सर्पको बिगबिगी बढेकाले सर्पदंशका घटना बढ्दै गएका छन् । अहिले जनरल वार्डका ६ बेड सर्पदंशका बिरामीले भरिएको जनाउँदै अस्पताल प्रमुख डा.थापाले चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताए ।
‘केही दिनयता सर्पदंशका बिरामीको चाप ह्वात्तै बढेको छ,’ प्रमुख डा.थापाले भने, ‘केहीको अवस्था गम्भीर छ ।’ दाङ र कैलालीबाट रिफर गरिएका बिरामी यहाँसम्म ल्याउँदा अवस्था गम्भीर बन्ने उनको भनाइ छ । भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा.पारेश पाण्डेले सर्पले डसेका बिरामीको उपचार सबै अस्पतालमा एकै प्रकारले हुने हुँदा सकेसम्म बिरामीलाई जोखिम मोलेर रिफर गर्न नहुने बताए ।
उनले अहिले धेरै अस्पतालमा आईसीयू, भेन्टिलेटर रहेकाले जुन जिल्लाका बिरामी हुन्, त्यहीँ उपचार गर्दा जोखिम कम हुने बताए । यो याममा सर्पदंशका केही बिरामीको अस्पताल पुर्याएलगत्तै मृत्यु भएको डा.पाण्डेले बताए । घरवरिपरि सफा राख्ने, रातको समयमा टर्च बालेर हिँडडुल गर्ने, झाडीमा नजाने, सुत्ने बेला झुल प्रयोग गर्ने हो भने सर्पदंशको जोखिमबाट जोगिन सकिने डा. पाण्डेको सुझाव छ ।
।