अफगानिस्तान । तालिबानले अफगानिस्तानको राजधानीलाई कब्जामा लिन सफल भएको छ । आइतबार तीन महत्वपूर्ण घटनाक्रमहरू भए । पहिलो – राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह आफ्ना निकटस्तहरुसँग देश छाडेर भागे । दोस्रो – तालिबानले राष्ट्रपति भवन (अर्ग)माथि कब्जा जमायो । तेस्रो – तालिबान नेता मुल्ला बरदारको बयान आयो ।
उनले भने, ‘सबै जनताको धनमालको सुरक्षा गरिनेछ । अगामी केही दिनमा सबै नियन्त्रणमा लिइने । हामीले सोचेकै थिएनौँ कि यति सजिलै र यति चाँडै जीत हासिल हुनेछ । आगामी केही दिनमा सबै सामान्य हुनेछ ।’ तालिवानका नेताहरू राष्ट्रपति भवनमा बसेर विभिन्न च्यानलहरूलाई अन्तरवार्ता दिइरहेका छन् । उनीहरूको दाबी छ कि राष्ट्रपति गनी देश छाडेर जाँदा ५० लाख डलर साथमा लिएर जाने प्रयासमा थिए ।
तर, उक्त रकम राष्ट्रपति भवनको हेलिप्याडमा नै छाडियो । केही मिडिया रिपोर्टमा राति काबुलमा केही विस्फोटको आवाजहरू पनि सुनिएका थिए । तर, तालिबान स्रोतहरूले यसबारे पुष्टि गरेको छैन । काबुल विमानस्थलबाट व्यावसायिक उडानमा रोक लगाइएको छ । यसबीच देशमा शान्ति बहाली गर्न एक समन्वय परिषद् बनाइएको छ । पूर्व राष्ट्रपति हामिद कारजईले यसको अगुवाइ गर्नेछन् ।
यसमा अब्दुल्ला अब्दुल्ला र जिहादी नेता गुलबुद्दीन हिकमतयार पनि रहनेछन् । समाचार एजेन्सीका अनुसार तालिवानले चाँडै राष्ट्रपति भवनबाट इस्लामिक इमिरेट्स अफ अफगानिस्तान घोषणा गर्ने तयारी गरेको छ । काबुलमा तीव्र गतिमा बदलिँदै परिस्थितिबीच अमेरिकाले स्केयूरिटी अलर्ट जारी गरेको छ । जसमा काबुल विमानस्थलमा सुरक्षाको अवस्था तीव्ररुपमा बदलिरहेको छ ।
केही मिडिया रिपोर्टमा विमानस्थलमा आगलागी भएको खबरसमेत आएको थियो । काबुलस्थित अमेरिकी दूतावास खाली भएको छ । अमेरिकी राजदूत अफगानिस्तान छाडेर भागिसकेका छन् । काबुल विमानस्थलमा कर्मचारीहरू भागेपछि कयौँ विमान बिना सबै यात्रु नै उडेको थियो । अहिले काबुलमा कुनै पनि यात्रुवाहक विमानहरू छैनन् । मात्र अमेरिकी सैन्य विमान रहेका छन् ।
।