सूचनाको शक्ति - The Power Of Information

        

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोजमा गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आउँदो असोज ८,९ र १० गते २२ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

आईतबार पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीले आउँदो असोज ८,९ र १० गते २२ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।

यो राष्ट्रिय सम्मेलनको माध्यमबाट नयाँ शिक्षा नीति, नयाँ नेतृत्व निर्वाचित गर्ने, विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय समितिका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

उपाध्यक्ष बस्नेतले २२ औँ राष्ट्रिय सम्मेलनमा ७९९ मात्रै प्रतिनिधि रहने उल्लेख गरे । उनले यो सम्मेलनलाई सम्पन्न गर्नका लागि आउँदो भाद्र १५ सम्ममा ईकाइ क्याम्पस, पालिका भेला गरिसक्ने, भाद्र २५ सम्ममा जिल्लाहरुको भेला र भाद्र २५ देखि असोज १ गतेसम्म प्रदेश भेला गरिसक्ने बताए ।

उनले भने, “यो राष्ट्रिय सम्मेलनको माध्यमबाट हामीले नयाँ शिक्षा नीति तय गर्नेछौँ, नयाँ नेतृत्व निर्वाचित गर्नेछौँ र विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्नेछौँ, अहिले कोभिड १९ कहरले मुलुक गुज्रिरहेको छ, यस स्थितीमा विगतमा हामीले २१ औँ सम्मेलनमा जम्मा २२ सय प्रतिनिधि थिए भने यस पटक त्यसलाई हामीले ७९९ मा झारेका छौँ, सामाजिक दूरी कायम गर्दै हामीले काठमाडौंको प्रज्ञा भवनमा उक्त राष्ट्रिय सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष कम्रेड प्रचण्डको उपस्थितीमा गर्नेछौँ, विश्वविद्यालयमा केन्द्रीय क्याम्पसमा यसको बन्द सत्र गर्नेछौँ, यसलाई सम्पन्न गर्नका लागि आउँदो भदौको १५ गते भित्रमा क्याम्पस सम्मेलन, इकाइ सम्मेलन र पालिका सम्मेलन गरिसक्नेछौँ, त्यसैगरी भदौ २५ गते भित्रमा देशभरका सम्पूर्ण जिल्लाहरुको भेला र भदौ २५ देखि असोज १ गते भित्रमा प्रदेश स्तरीय भेला सम्पन्न गर्नेछौँ, ती सबै जिल्ला र प्रदेश र क्याम्पस कमिटीबाट प्रतिनिधित्व गराउँदै हामी राष्ट्रिय सम्मेलन गर्नेछौँ, यो राष्ट्रिय सम्मेलनमा शिक्षा, स्वास्थ्य र रोजगार नागरिकको मौलिक हकको रुपमा संविधानमा ग्यारेन्टी गरेका छौँ, संविधानमा त लेखाउन सक्यौँ, तर व्यवहारमा कार्यान्यन हुन सकेको छैन, त्यसैले अबको नेपाली विद्यार्थी आन्दोलनलाई स्वास्थ्य, शिक्षा र रोजगारको अधिकारलाई जीवन व्यवहारमा कार्यान्वयन गर्नका निम्ति अबको विद्यार्थी आन्दोलन त्यस दिशामा सोझिनेछ ।”

अखिल क्रान्तिकारीले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औँ राष्ट्रिय सम्मेलन भन्ने नारालाई प्रमुख एजेण्डा बनाएर अघि बढ्ने बताएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार १७:५८