सूचनाको शक्ति - The Power Of Information

        

अफगानिस्तानमा रहेका नेपाली फर्काउने तयारीमा सरकार

काठमाडौं । नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको छ । तालिवान समूहले अफगानिस्तानका उत्तर, पश्चिम र दक्षिणका आधाभन्दा बढी प्रान्त कब्जा गरेसँगै सरकारले उद्धारमा चासो देखाएको हो । काबुलमा नेपालीको संख्या धेरै छ ।

उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै उद्धारको तयारी गरिएको सरकारले जनाएको छ । यतिबेला अफगानिस्तानमा १५ सय नेपाली रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अफगानिस्तान हेर्ने जिम्मा पाएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीसँग सम्पर्क भइरहेको जानकारी दिइन् ।

उनले भनिन्, ‘व्यक्ति व्यक्तिसँग र समूहमा कुरा भइरहेको छ ।’ संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा नेपाली खटिएका छन् । दिल्लीस्थित नेपाली दूतावासका अनुसार संयुक्त राष्ट्रसंघ तथा त्यस अन्तरगतका कार्यालय, युरोपियन युनियनको कार्यालय, बेलायत, जर्मनी, क्यानडा, जापान, नर्वे, अस्ट्रेलियन दूतावासमा नेपाली पूर्व सुरक्षाकर्मी खटिएका छन् ।

काबुलस्थित अमेरिकी राजदूतावासमा ५६० नेपाली कार्यरत रहेको लम्सालले उल्लेख गरिन् । ‘हाल ३८० त्यहि कार्यरत रहेका छन् भने बाँकी विदामा काबुल बाहिर छन् । संयुक्त राष्ट्रसंघीय निकाय र युरोपियन युनियनको कार्यालयमा ४७० नेपाली छन् । बेलायत, क्यानडा, जापान, जर्मनी, अस्ट्रेलियाका दूतावासमा कम्तीमा ६०–६० जना नेपाली खटिएका छन्,’ प्रवक्ता लम्सालले भनिन् ।

काबुलमा रहेका नेपाली उद्धारका लागि सम्बन्धित देशको राजदूतावासलाई आफ्नो नागरिक उद्धार गर्दा नेपालीको पनि उद्धार गरि दिनका लागि पत्राचार गरिसकेको प्रवक्ता लम्सालले जानकारी दिइन् । उनले भनिन्, ‘हालसम्मको जानकारी अनुसार नेपालीहरु सुरक्षित स्थानमा रहेको जानकारी आएको छ ।’ गत वैशाखदेखि हालसम्म ३३० जनाले श्रम स्वीकृति लिएको अफगानिस्तान गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अफगानिस्तानका अधिकांश राज्यमा आफ्नो नियन्त्रण जमाइसकेको तालिबानी लडाकु राजधानी काबुल नजिकै पुगेका छन् । मुलुकको रणनीतिक सहर मानिने मजार–ए–शरीफ कब्जा गरिसकेका तालिबानी लडाकु राजधानी काबुलतर्फ अघि बढेको जनाइएको छ । समाचार एजेन्सीका अनुसार तालिबान लडाकु काबुलबाट ११ किलोमिटरको दूरीमा पुगिसकेका छन् ।

अधिकांश प्रान्त कब्जा गरिसकेको तालिबानले राजधानी कब्जा गर्ने देखिएपछि अधिकांश देशले त्यहाँ रहेका आफ्ना कुटनीतिक कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन् । अमेरिकाले काबुलमा रहेका कुटनीतिक कर्मचारी फिर्ताका लागि सेनासहितको विमान पठाइसकेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार १६:१७