सूचनाको शक्ति - The Power Of Information

        

राजधानी काबुल नजिक पुगे तालिबान लडाकु

काठमाडौं । अफगानिस्तानका अधिकांश राज्यमा आफ्नो नियन्त्रण जमाइसकेको तालिबानी लडाकु राजधानी काबुल नजिकै पुगेका छन् । मुलुकको रणनीतिक सहर मानिने मजार–ए–शरीफ कब्जा गरिसकेका तालिबानी लडाकु राजधानी काबुलतर्फ अघि बढेको जनाइएको छ ।

बीबीसीका अनुसार तालिबान लडाकु काबुलबाट ११ किलोमिटरको दूरीमा पुगिसकेका छन् । राजधानी काबुल शहरमा विद्रोही तालिबानी लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् । राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए ।

अफगानिस्तानको सुरक्षा मजबुद बनाउनका लागि सेनालाई संगठित बनाइने राष्ट्रपति घानीले बताएका थिए । आइतबार बिहानैदेखि तालिबानीहरु काबुलमा घुस्न थालेपछि त्यहाँको संकट थप गहिरिएको छ । तालिबानीहरुले काबुलबाहेकका शहरहरु कब्जामा लिइसकेका छन् । उनीहरु तीव्र गतिमा काबुलतर्फ बढिरहेका छन् ।

राष्ट्रपति असरफ घानी

प्रमुख शहर जलालाबादका सरकारी अधिकारीहरुले कुनै प्रतिवादबिनै तालिबानीसँग आत्मसमर्पण गरेपछि उत्साहित देखिएका तालिबानीहरु काबुलतर्फ अघि बढेका हुन् । शहरका कैंयौं इलाकाहरूमा तालिबानी झण्डा फहराइएका छन् । केही स्थानमा गोली चलेका आवाजहरू आइरहेका छन् । तालिबानी नेताहरुले शान्ति पूर्णरुपमा सत्ता हस्तान्तरण गर्न अफगान राष्ट्रपति घानी र त्यहाँको सरकारलाई आग्रह गरेको छ । उसले नागरिकहरुलाई देश छाडेर नजान आग्रहसमेत गरेको छ ।

अधिकांश प्रान्त कब्जा गरिसकेको तालिबानले राजधानी कब्जा गर्ने देखिएपछि अधिकांश देशले त्यहाँ रहेका आफ्ना कुटनीतिक कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन् । अमेरिकाले काबुलमा रहेका कुटनीतिक कर्मचारी फिर्ताका लागि सेनासहितको विमान पठाएको छ । अमेरिकी सेनाको पहिलो दस्ता काबुल विमानस्थलमा अवतरण गरिसकेको जनाइएको छ । काबुलमा रहेका आफ्ना हजारौं कुटनीतिज्ञलाई सुरक्षीत रुपमा फिर्ता लैजान अमेरिकाले झण्डै पाँच हजार सैनिकसहित विमानहरु पठाइरहेको अधिकारीहरुको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतवार १६:०९