नेपाल प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदामध्ये वन जङ्गल तथा यसभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको महत्वपूर्ण स्थान छ ।
देशभित्र पाइने सूचीकृत करिब ७०० प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन, समग्र जीवजन्तु, मानव जाति र विश्व समुदायलाई प्रकृतिको तर्फबाट अनुपम उपहारका रूपमा प्राप्त भएका छन् । अपार सम्भावना बोकेको महत्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्वपूर्ण साधन हुन् ।
बर्सेनि अर्बौं धनराशिका विभिन्न जडीबुटी र गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असङ्ख्य नेपालीको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार जडीबुटीको सङ्कलन तथा बिक्री वितरणबाट अर्बौं धनराशि आर्जन हुने गरेको छ । यसैमध्ये यार्सागुम्बा पनि एक महत्वपूर्ण जडीबुटी हो ।
यार्सागुम्बा लगायत अन्य महत्वपूर्ण जडीबुटीको बिक्री वितरणबाट दार्चुला, जुम्ला, गोरखा, लमजुङ तथा डोल्पाजस्ता पहाडी जिल्लामा करोडाँै रुपैयाँ बर्सेनि भित्रिने गर्दछ । अपार सम्भावना बोकेको जडीबुटी समग्र देशको विकासमा महत्वपूर्ण साधन मात्र नभएर हाम्रो देशको सम्पत्ति तथा प्रकृतिले दिएको उपहार पनि हो ।
यार्सागुम्बा मात्र एउटा यस्तो जडीबुटी हो, जो जाडोमा कीरा र गर्मीमा घाँस बनेर रहने अनौठो प्रजातिको वनस्पति र जीवको मिश्रित रूप हो । यो आधा वनस्पति र आधा कीराजस्तो हुन्छ । यो शक्तिवर्धक र दुर्लभ बहुमूल्य जडीबुटीमा पर्दछ । यार्सागुम्बा हाम्रो देशको हिमाल र पहाडी जिल्लाको लेकाली खर्क, पाटन तथा माडीमा पाइन्छ ।
यो जडीबुटीलाई २०० वर्षअगाडि चीनका तियान भन्ने विद्वान्ले शक्तिवर्धक बहुमूल्य जडीबुटी भनी प्रमाणित गरेपछि यसको प्रयोग सुरु भएको भनाइ छ । यसको बजार, व्यापार र मूल्य आकासिँदो भई अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग बढेको छ । नेपालको सन्दर्भमा विगतमा भन्दा हाल यसको सङ्कलनमा तीव्रता बढेको छ ।
विगत वर्षजस्तै यस वर्ष पनि यो सङ्कलनका लागि वैशाखदेखि साउनसम्म खासगरी स्थानीय मानिस लेकको माडी÷पाटनतर्फ लाग्ने गरेको पाइन्छ । यो सङ्कलनको उचित समय नै यही बीचको समय हो । यसको सङ्कलन ज्यादै कठिन एवं जोखिमपूर्ण हुन्छ । सोक्रममा लुटपाट भई अप्रिय घटनासमेत हुने गरेका छन् ।
यार्सागुम्बा सङ्कलनका क्रममा चिसो र धपेडी तथा लेक लागेर सङ्कलनकर्ता बिरामी भई ज्यानैसमेत गुमाउँछन् । यार्सागु्म्बा नेपालका हिमाली जिल्लाहरू गोरखा, लमजुङ, रसुवा, म्याग्दी, मुस्ताङ, दार्चुला, बझाङ, जुम्ला, मुगु, डोल्पा लगायतका जिल्लामा पाइन्छ । यो जडीबुटीको बजारक्षेत्र खासगरी ताइवान, हङकङ, सिङ्गापुर, तिब्बत, चीन आदि हुन् ।
स्थानीयबासी एवं व्यापारीलाई राम्रो आम्दानी हुने व्यापारका रूपमा यो जडीबुटीको व्यापार चल्दै आएको छ । यसको मूल्य प्रतिकिलो तीन लाख (गुणस्तर हेरी)देखि १२ लाख रुपैयाँसम्ममा भएको सम्बन्धित व्यापारीहरू बताउँछन् । यार्सागुम्बालाई शक्तिवद्र्धक भनिएको छ, तर यो वनस्पतिबाट केके औषधि बन्छन् भन्ने तथ्य पनि हाम्रा वनस्पतिविद्हरूलाई हुन सकेको छैन ।
अवैज्ञानिक सङ्कलन र मौसम परिवर्तनले गुणस्तरीय यार्सागुम्बा उत्पादनमा ह्रास आएको छ । वैज्ञानिक तरिकाबाट अमृतसमान यार्सागुम्बा सङ्कलन गरी यसको उत्पादनको निरन्तरता भावी पुस्तालाई पनि संरक्षण गरिराख्नु समयको माग हो । यसमा स्थानीय सरकारको भूमिका अत्यन्त प्रभावकारी हुन्छ ।
वनमा आश्रितहरू वनकै वरिपरि बस्ने तथा उनीहरूको जीविकोपार्जनको मुख्य आधार वन पैदावार सङ्कलन तथा बिक्री वितरणजस्ता कार्य सदीयौँदेखि रहिआएको पाइन्छ । बिनाव्यवस्थापन सङ्कलन मात्र गर्नाले प्राकृतिक अवस्थामा रहेको हाम्रो देशको यार्सागुम्बाजस्तो अमूल्य जडीबुटी मासिँदै र नासिँदै जान थालेको छ ।
फलस्वरूप भविष्यमा यसले स्थानीय समुदायको जीविकोपार्जन तथा वातावरण सन्तुलनमा नकारात्मक असर पार्ने निश्चित छ । यसरी वनजङ्गलमा रहेका महत्वपूर्ण जडीबुटीलाई एकातिर संरक्षण, व्यवस्थापन र दिगो उपयोग गर्नुपर्ने देखिन्छ भने अर्काेतर्फ व्यापारिक महत्वका जडीबुटीलाई उपलब्ध खाली, पर्ती, माडी तथा पाटनमा खेती विस्तार गरी व्यावसायीकरण गर्नु आवश्यक छ ।
यार्सागुम्बाको खेती विस्तार तथा स्थानीयस्तरमा प्रशोधन तथा मूल्य अभिवृद्धिका क्रियाकलाप र उत्पादित पदार्थको उचित बजारीकरणद्वारा बढीभन्दा बढी आम्दानी गरी स्थानीय समुदायलगायत समग्र राष्ट्रकै आर्थिक समृद्धिमा टेवा पुग्नेतर्फ ध्यान दिन आवश्यक छ । देशमा उपलब्ध बहुमूल्य जडीबुटीको उचित व्यवस्थापन गर्न अति आवश्यक छ ।
यार्सागुम्बाजस्तो अमूल्य जडीबुटीलाई वैज्ञानिक व्यवस्थापन गर्ने हो भने प्राकृतिक स्रोतसाधनबाटै हाम्रो देशको आर्थिक विकास र वृद्धिमा फड्को मार्ने अवस्था छ । नेपालको बहुमूल्य जडीबुटीको पथ प्रदर्शनका माध्यमबाट पनि पर्यटन व्यवसायमा आवश्यक टेवा दिन सकिन्छ । नेपालको हिमाली क्षेत्र यस्तै प्रकारका अमूल्य जडीबुटी उत्पादनको दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण मानिएको छ ।
जडीबुटीको पर्याप्त सम्भावना हुँदाहुँदै पनि स्थानीय आम्दानी र राष्ट्रिय ढुकुटीमा बल पुग्न सकेको छैन । यी उपलब्ध जडीबुटीलाई वैज्ञानिक अध्ययन, दिगो विकास, व्यवस्थापन, व्यावसायिक खेती, मूल्य अभिवृद्धि तथा बजार प्रवद्र्धनद्वारा सम्बन्धित समुदायको आयस्तामा उचित वृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनीकरणका लागि मुख्य आधार बनाउन सकिन्छ । सो गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार तथा सम्बन्धित लक्षित समुदायको क्रियाशीलता आवश्यक पर्दछ ।
जडीबुटी प्रवद्र्धनमा जति धरै सम्भावना हुन्छ, त्यति नै समस्या र चुनौती पनि नकार्न सकिँदैन । यसको मुख्य समस्यामध्ये स्थानीय उपभोक्ता र अन्य सरोकारवालाहरूमा रहेको अनभिज्ञ र अपूर्ण जानकारी प्रमुख कारक हो । हाम्रा अमूल्य जडीबुटीबारे नेपाली वा स्थानीय भाषामा लेखिएका सामग्रीहरूको उपलब्धताको कमीले जडीबुटी संरक्षणसम्बन्धी उचित ज्ञान दिन सकिएको छैन । (गोरखापत्रबाट)
।